सूचनाको शक्ति - The Power Of Information

        

सर्वोच्च अदालत

प्रधानमन्त्री प्रचण्डको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

मुद्दाको टुंगो अन्तिम सुनुवाइपछि लाग्ने भन्दै तत्काल अन्तरिम आदेश भने दिनु नपर्ने ठहरसहित सर्वोच्चले मुद्दालाई अग्राधिकार समेत दिएको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रचण्डका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । मुद्दाको टुंगो अन्तिम सुनुवाइपछि लाग्ने भन्दै तत्काल अन्तरिम आदेश भने दिनु नपर्ने ठहरसहित सर्वोच्चले मुद्दालाई अग्राधिकार समेत दिएको छ ।

अदालतले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश जारी गरेको छ । ‘निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने केही कारण भए बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ,’ सर्वोच्चका प्रवक्ता विमल पौडेलले भने ।

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए । प्रचण्डको केही पहिलेको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

हेर्नुहोस्, आदेश :

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १६:५१