नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकै भोलिपल्ट मठमन्दिर दर्शनमा निस्किँदा सडक खाली गरिएको छ । पौडेल पशुपतिनाथदेखि सुन्दरीजलसम्मका स्थानमा पुग्दा सर्वसाधारणलाई रोक्दै सडक खाली गरिएको हो ।
बिहीबार मात्रै राष्ट्रपति निर्वाचनका क्रममा उनले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि सडकमा निस्किँदा जनताले दुःख नपाउने बताएका थिए । तर उनै पौडेल शुक्रबार पशुपति दर्शनमा निस्किँदा सडक खाली गराएर सर्वसाधारणलाई रोकियो ।
उनको सुरक्षामा खटिएका सेना र प्रहरीको टोलीले सर्वसाधारणलाई रोकेका थिए । पौडेल शुक्रबार बिहान पशुपति दर्शन गर्न जाँदा र सुन्दरीजलस्थित बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्न जाँदा प्रहरीले सडकको बायाँ लेन पूरै खाली गरेर सर्वसाधारणलाई रोकेको हो ।
राष्ट्रपति भएको भोलिपल्टै सडक छेकेर सर्वसाधारणलाई रोकिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । शुक्रबार बिहान ९ बजे पशुपति पुगेका पौडेल त्यहाँ डेढ घण्टा बिताएपछि बीपीको शालिकमा माल्यार्पण गर्न साढे १० बजे सुन्दरीजल पुगेका थिए । त्यस क्रममा राष्ट्रपति पौडेल सुन्दरीजल जाँदा सुरक्षाकर्मीले बायाँ लेन पूरै खाली गराइदिएका थिए ।
कार्यालय समयमा एउटा लेन खाली गराउँदा गौशालादेखि चाबहिल हुँदै जाने सडकमा जाम भएको थियो । बिहीबार मात्रै राष्ट्रपतिको चुनावका क्रममा पौडेलले आफू राष्ट्रपति बनेमा नागरिकलाई हैरानी हुने काम नगर्ने बताएका थिए । आफू सडकमा निस्किँदा सर्वसाधारणलाई कुनै किसिमको सास्ती हुन नदिने वाचा पनि उनले गरेका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं