उपराष्ट्रपति पदमा राष्ट्रपतिको भन्दा फरक लिङ्गको उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सत्ता गठबन्धन अन्योलमा परेको छ । चैत ३ गते हुने चुनावको शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
आयोगले शुक्रबार सूचना जारी गर्दै राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोले अब फरक लिङ्ग (पुरुष होइन)का उम्मेदवारको मनोनयन गराउन भनेको हो । आयोगको निर्णयप्रति जनता समाजवादी पार्टीका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
जसपाले उपराष्ट्रपतिका लागि बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने बिहीबार (२५ फागुन) मै निर्णय गरिसकेको छ । नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति दाबी गरेको छ ।
अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने उन्मुक्तिले शुक्रबार बिहान निर्णय गरिसकेको छ । तर, संवैधानिक व्यवस्था अनुसार उनको उमेर पुग्ने देखिँदैन । श्रेष्ठ अहिले ४० वर्षकी छन् । संविधानमा उपराष्ट्रपतिका लागि ४५ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ ।
उपराष्ट्रपतिबारे निर्णय गर्न सत्ता गठबन्धनका ९ दलको बैठक अहिले बस्दैछ । उक्त बैठकले उम्मेदवारबारे साझा धारणा बनाएर समझदारी गर्ने सम्भावना छ । निर्वाचन आयोगले संविधानको व्यवस्थालाई टेकेर उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने अडान लिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं