सूचनाको शक्ति - The Power Of Information

        

गड्यौलाको मल उत्पादन गरेर वार्षिक पाँच लाख आम्दानी

भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन् । गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उनले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लागेकी हुन् ।

‘दुई वर्षअघि बैंकबाट रु पाँच लाख ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन सुरु गरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ ।’ जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताइन् । मल उत्पादनका लागि उनले बाख्रापालनसमेत गरेकी छन् ।

रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन् । ‘रासायनिक मलले भन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ,’ उनले भनिन्, ‘केही समयअघिसम्म यसबारे ज्ञान नभएर प्रयोग गर्न डराउँथे ।’

पछिल्लो समय केही किसानले धान, गहुँ, उखु र तरकारीखेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको जोशी बताउँछन् । ‘अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन,’ उनले भनिन्, ‘तरकारी र फूलमा प्रयोग गर्नका लागि यो मल बढी लैजाने गरेका छन् ।’

उनले मल र बाख्राबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी हुने गरेको बताइन् । गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने जोशीले बताइन् । ‘कुहिने फोहरबाट समेत गड्यौला मल उत्पादन गर्न सकिन्छ,’ उनले भनिन्, ‘बेला–बेलामा सिँचाइ गर्नुपर्छ, धेरै मेहनत लाग्दैन ।’

गड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ । यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ । गड्यौला मल प्रतिकिलो रु ३५ का दरले बिक्री हुने गरेको जोशीले बताइन् ।

उनले भनिन्, ‘गड्यौला प्रतिकिलो रु तीन हजारका दरले बिक्री हुन्छ ।’ जोशीले गड्यौला र मल दुवै बिक्री गर्दै आएकी छन् । पछिल्लो समय यहाँका अन्य किसानले पनि गड्यौला मलको उत्पादन गर्न थालेका छन् । ‘यसमा धेरै मेहनत लाग्दैन, एकपटक गड्यौला ल्याएर राखे पुग्छ,’ जोशीले भनिन् ।

स्रोत : रासस
प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १५:४८