सूचनाको शक्ति - The Power Of Information

        

उपचार गर्ने पैसा नभएपछि बाजुरा अस्पतालमा छट्पटाउँदै चार वर्षीय बालक

मुखमा अक्सिजन पाइप लगाइएको छ । यताउता हेर्छन् । पीडाले छटपटाइरहेका छन् । बोल्न सक्दैनन् । जिल्ला अस्पताल बाजुरामा रहेका बडिमालिका नगरपालिका–९ का ४ वर्षीय गौतम थापाको अवस्था हो यो ।

उनी दुई दिनदेखि सो अस्पतालमा छन् । चिकित्सकका अनुसार गौतमको उपचार बाजुरामा सम्भव छैन । मुटुमा समस्या भएका कारण दुई वटा भल्ब फेनुपर्ने चिकित्सकले बताएका छन् । तर, आर्थिक अभावमा थापाका परिवारले उपचार गराउन काठमाडौं समेत लैजान सकेका छैनन् ।

उनका बुबा हिमाल थापाका अनुसार करिब ६ महिना अगाडि परिवारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ल्याएका थिए । अस्पतालले सात दिन भर्ना गर्यो । ‘अप्रेसन लागि भोलि तोकिएको थियो। तर, अस्पतालले आजै डिस्चार्ज गरिदियो,’ थापाले भने, ‘त्यसबेला उपचार गर्नका लागि पैसा पनि थिएन । बिरामी छोरालाई घरमै ल्याएँ ।’

तर, १५ वर्षभन्दा मुनिका बालबालिकाको मुटुको उपचार केन्द्रले निःशुल्क गर्दै आएको छ । अस्पतालबाट ल्याएको केही महिनामा गौतमलाई समस्या बढ्दै गयो । हाल गौतम बाजुरा जिल्ला अस्पतालमा अक्सिजनको सहारामा छन् । अस्पतालले गौतमको अवस्था जटिल भएको भन्दै अभिभावकबाट मञ्जुरीनामा समेत लिइसकेको छ ।

अस्पतालका चिकित्सक डा.प्ररित देवकोटाका अनुसार गौतममा जन्मजात मुटुको समस्या छ । ‘पहिला नै गंगालाल अस्पतालमा रोग पत्ता लगाइसकेको रहेछ । गत दशैंपछि अप्रेसन गर्न मिति तोकिदिएको रहेछ,’ देवकोटाले भने, ‘तर, उहाँ जानु भएनछ । अहिले बच्चाको अवस्था एकदमै जटिल छ ।’

‘बच्चा अस्पताल आउँदा शरीर पुरै निलो थियो । दिसा–पिसाब गर्न नसक्ने अवस्थामा थियो । अहिलेसम्म हामीले जसोतसो बचाइरहेका छौ । समयमै बच्चाको अप्रेसन हुन सकेन भने जे पनि हुनसक्छ,’ डा. देवकोटाले भने । गौतमको उपचार बाजुरामा सम्भव नहुने भन्दै अस्पतालले रेफर समेत गरिसकेको छ ।

तर, उनका बाबु पैसा जुटाएर मात्रै काठमाडौं जाने भन्दै वडा कार्यालय र आफन्तकोमा धाइरहेका छन् । घरको आर्थिक स्थिति कमजोर भएका कारण पैसा नभएर जिल्ला बाहिर उपचारका लागि लैजान नसकेको थापा बताउँछन् । ‘घरको खेतीपातीले तीन महिना पनि खान पुग्दैन । गाउँमा ज्याला मजदुरी गर्दै आएको छु । घरमा एक छाक टार्न गाह्रो भएको बेला कसरी उपचार गर्ने रकम जुटाउन सक्छु ?’ थापा भन्छन् ।

हाल उनी वडा कार्यालयबाट विपन्नको सिफारिस बनाएर छोरालाई काठमाडौं लैजाने तयारीमा छन् । ‘वडाको सिफारिस बनाएर छोरालाई काठमाडौं लैजाने तयारीमा छु । छिमेकीले पनि सापटी पत्याउँदैनन् । छोरा अस्पतालको बेड छट्पटाइरहेको छ । म पैसा खोज्न गाउँ–गाउँ चहारिरहेको छु,’ उनले भने ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १४:४४