द फाइभ गेयर्स इन्स्टिटियुट नामक अमेरिकी संस्थाको नेतृत्वमा भएको एक अनुसन्धानले पृथ्वीमा प्लास्टिक प्रदूषणको मात्रा अत्यधिक भएको देखाएको छ । उक्त अनुसन्धानबाट विश्वका समुद्रको सतहमा अहिले करिब १७१ ट्रिलियन (नील) प्लास्टिकका टुक्राहरू (माइक्रोप्लास्टिक) रहेको जानकारी आएको हो ।
यसअघि मानव रगतमा पहिलो पटक माइक्रोप्लास्टिकको उपस्थितिको प्रमाण वैज्ञानिकहरूले फेला पारेका थिएँ । यसबाट विश्वमा प्लास्टिक प्रदुषणमुक्त कुनै ठाउँ छैन भन्ने कुरा प्रष्ट भएको छ । यसअघि समुन्द्र गहिराईदेखि हिमालको उचाईसम्म प्लास्टिक प्रदुषणको अस्तित्वको प्रमाण भेटिएको थियो ।
अहिलेचाहिँ मान्छेको रगतमा नै प्लास्टिक प्रदुषणको उपस्थिति भेटिनु ठूलो चिन्ताको विषय हो । यस सम्बन्धी अनुसन्धान इन्भाइरोमेन्ट इन्टरनेशनल जर्नलमा प्रकाशित छ । वैज्ञानिकहरूले गरेको परीक्षणमा करिब ७७ प्रतिशत मानिसको रगतमा माइक्रोप्लास्टिकका टुक्राहरू भेटिएका हो ।
रगतमा तिनीहरूको उपस्थितिले अर्थ के हो भने यी माइक्रोप्लास्टिक कणहरू शरीरको एक ठाउँबाट अर्को ठाउँमा जान सक्छ र शरीरका कुनै पनि अंगमा पुगेर जम्मा हुन सक्छ । आफ्नो अनुसन्धानका क्रममा वैज्ञानिकहरूले नेदरल्यान्ड्सका २२ जना मानिशको रगतको नमूनाहरूको विश्लेषण गरेका हुन । यी सबै मानिस वयस्क र स्वस्थ थिए ।
अनुसन्धानमा ती मध्ये १७ जनाको रगतमा माइक्रोप्लास्टिक कण भेटिएको थियो । यी नमूनाहरू मध्ये आधामा पीईटी प्लास्टिक (पोलिथिलीन टेरेफ्थालेट) पाइयो, जुन सामान्यतया पेय पदार्थको बोतल र कपडा बनाउन प्रयोग गरिन्छ । यसैगरी, करिब एक तिहाइ (३६ प्रतिशत) नमूनाहरूमा पोलिस्टाइरिन पाइयो, जुन खाद्यवस्तु र अन्य उत्पादनहरूको प्याकेजिङमा प्रयोग गरिन्छ ।
जबकि करिब एक चौथाई (२३ प्रतिशत) नमूनामा पोलिथीन भेटियो । तर, यसले स्वास्थ्यमा कसरी असर गर्छ भन्नेबारे भने खुलाइएको छैन । विश्वका समुद्रमा प्लास्टिक प्रदूषण विगत १५ वर्षमा ‘अत्यधिक स्तरमा’ पुगेको उक्त अध्ययनले देखाएको छ । महासागरीय प्लास्टिक प्रदूषण विश्वभरि नै एक निरन्तर समस्या हो ।
जनावरहरू माछा मार्ने जाल जस्ता प्लास्टिकका ठूला टुक्राहरूमा फस्न सक्छन् । वा माइक्रोप्लास्टिकहरू खान सक्छन् जुन अन्ततः मानवद्वारा उपभोग गर्ने खाद्य शृङ्खलामा प्रवेश गर्दछ । ‘विगत १५ वर्षमा विश्वका समुद्रमा प्लास्टिक प्रदूषण अत्यधिकस्तरमा पुगेको छ,’ उक्त अध्ययनमा भनिएको छ । पहिलेको अनुमानभन्दा यो मात्रा बढी थियो ।
समुद्रमा प्रवेश गर्ने प्लास्टिकको दर यदि यसलाई नियन्त्रण गर्न सकिएन भने आगामी दशकहरूमा धेरै गुणा बढ्नसक्ने अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले सन् १९७९ देखि २०१९ सम्मको ४० वर्षको अवधिमा विश्वभरका ११ हजारभन्दा बढी स्टेसनबाट प्लास्टिकको नमूना लिएका थिए । तिनीहरूले १९९० सम्म कुनै प्रवृत्तिहरू फेला पारेनन्, त्यसपछि (१९९०–२००५) को बीचमा प्रवृत्तिहरूमा उतार–चढाव आएको र प्रदूषण आकाशिएको थियो ।
‘हामीले सन् २००५ पछि वास्तवमै तीव्र वृद्धि देखेका छौँ । यो समयमा प्लास्टिक उत्पादनमा तीव्र वृद्धि भएको छ र समुद्रमा प्लास्टिकको प्रवाहलाई नियन्त्रण गर्ने सीमित नीतिहरू पनि छन्,’ अनुसन्धानकर्ता लिसा एर्डलले बताउनुभएको छ । समुद्रमा प्लास्टिक प्रदूषणका स्रोतहरू असङ्ख्य छन् । जाल र बुयाजस्ता माछा मार्न प्रयोग गरिने सामानहरू प्रायः समुद्रको बीचमा लापरबाहीबस फ्याँकिन्छन् ।
लुगाफाटा, कार टायर र एकल–प्रयोग प्लास्टिक जस्ता चीजहरू प्रायः तटको नजिक पुगेर समुद्रलाई प्रदूषित गराउँछन् । तिनीहरू अन्ततः ‘माइक्रोप्लास्टिक्स’मा टुक्रिन्छन् । इकोनोमिस्ट इम्प्याक्ट र द निप्पोन फाउन्डेसनले संयुक्तरूपमा तयार पारेको प्रतिवेदनअनुसार सन् २०१९ को तुलनामा सन् २०५० सम्ममा जी–२० देशहरूमा प्लास्टिकको प्रयोग लगभग दोब्बर हुनेछ र हरेक वर्ष ४५ करोड १० लाख टन पुग्नेछ ।
प्रतिवेदनअनुसार १०० वर्ष पहिले अर्थात् सन् १९५० सम्ममा विश्वमा २० लाख टन मात्र प्लास्टिक उत्पादन भएको थियो । वैज्ञानिकहरूले परीक्षण गरेका १० मध्ये ८ जनाको रगतमा माइक्रोप्लास्टिकका कण फेला पारेका छन् । तीमध्ये आधाजसो रगतमा त प्लास्टिकको बोतलमा प्रयोग हुने पीईटी (पोलिथिलीन टेरेफ्थालेट) प्लाष्टिक पाइएको छ ।
के हो माइक्रोप्लास्टिक ?
प्लास्टिकका ठूला टुक्राहरू ससाना कणहरूमा विभाजित भएपछि तिनीहरूलाई माइक्रोप्लास्टिक भनिन्छ । कपडा र अन्य वस्तुहरूको माइक्रोफाइबरहरू टुट्दा माइक्रोप्लास्टिकहरू बन्छन् । सामान्यतया १ माइक्रोमिटरदेखि ५ मिलिमिटर साइजको प्लास्टिकका टुक्राहरूलाई माइक्रोप्लास्टिक भनिन्छ । सिन्थेटिक प्लास्टिक ‘बेकेलाइट’को उत्पादन पहिलो पटक सन् १९०७ मा भएको थियो ।
यसलाई नै प्लास्टिक उद्योगको प्रारम्भ मानिन्छ । सन् १९५० देखि हालसम्म ८३०० मिलियन टनभन्दा बढी प्लास्टिक उत्पादन भइसकेको छ । यो सन् २०२५ सम्म दोब्बर हुने अनुमान गरिएको छ ।सन् २०१५ मा प्लास्टिकको वार्षिक उत्पादन लगभग ३५० मिलियन टन थियो, जुन १९५० को तुलनामा २०० गुणा बढी हो । प्लास्टिक टुट्न र सड्न धेरै समय लाग्ने भएकाले यसको ठूलो भाग वातावरणमा लामो समयसम्म रहन्छ ।
स्वास्थ्यका लागि कति हानिकारक छ माइक्रोप्लास्टिक ?
जर्नल इनभाइरोन्मेन्ट इन्टरनेशनलमा प्रकाशित अर्को अध्ययनले गर्भमा रहेका बच्चाहरूको प्लेसेन्टा (गर्भनाल) मा समेत माइक्रोप्लास्टिक्स फेला पारेको छ । यी माइक्रोप्लास्टिक कणहरूले भ्रूणको विकासलाई असर गर्न सक्छ भन्ने शोधकर्ताहरूको विश्वास छ । यसले बच्चाहरूको रोग प्रतिरोधक प्रणाली वा इम्यून सिस्टमलाई पनि असर गर्न सक्छ, जसले भविष्यमा रोगहरूसँग लड्ने उनीहरूको क्षमतालाई असर गर्न सक्छ ।
त्यसैगरी फ्लोरिडा स्टेट युनिभर्सिटीले गरेको अर्को अध्ययनले शरीरमा प्रवेश गर्ने माइक्रोप्लास्टिक्सले कोशिकाको काममा असर पार्न सक्ने देखाएको छ । वैज्ञानिकहरूका अनुसार माइक्रोप्लास्टिक एकपटक श्वासप्रश्वास वा अन्य कुनै पनि माध्यमबाट शरीरमा पुगेपछि यसले फोक्सोका कोशिकाहरूको मेटाबोलिज्म तथा वृद्धिमा असर पार्ने र केही दिनमै तिनको वृद्धिलाई सुस्त बनाउन सक्छ । यति मात्र होइन, यसले कोशिकाको आकारलाई पनि असर गर्न सक्छ ।
यसैबीच, जर्नल अफ हाजार्डस मटेरियल लेटर्समा प्रकाशित अनुसन्धानले हामीले हरेक दिनजसो प्रयोग गर्ने टूथपेस्ट, क्रिम लगायतका बस्तुदेखि हाम्रो खाना, हावा र पिउने पानीमा आदिमा हुने माइक्रोप्लास्टिक कणले ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोधी क्षमता ३० गुणासम्म बढाउन सक्ने देखाएको छ ।
विश्वभर जसरी प्लास्टिकको उत्पादन र प्रयोग बढ्दै गएको छ, त्यसले वातावरणका लागि ठूलो समस्या निम्त्याइरहेको छ । मानव शरीरभीत्र नै प्लास्टिक भेटिएका नयाँ प्रमाणहरू फेला पारिनुले ठूलो खतरातिर औंल्याएको छ । त्यसैले यो प्लास्टिकको समस्यालाई सम्बोधन गर्न तत्काल पहल गर्न जरुरी छ ।
सत्यपाटी संवाददाता । काठमाडौं