दाङको तुलसीपुरमा सासु ससुराले बुहारीको विवाह गराइदिएका छन् । बिहीबार तुलसीपुरका शिव श्रेष्ठ र बिना श्रेष्ठले आफ्नो एकल बुहारी आरती श्रेष्ठको बर्दघाट नगरपालिका वडा नं. ५ पालडाँडा निवासी चन्दनध्वज केसीसँग विवाह गरिदिएका हुन् ।
शिव श्रेष्ठका छोरा सुविन श्रेष्ठको २०७४ साल कात्तिक ५ गते ३३ वर्षको उमेरमा (क्यान्सर रोग)को उपचारको क्रममा निधन भएको थियो । छोराको मृत्युपछि एक्लिएकी बुहारी आरतीलाई छोरीको रुपमा लिएका थिए । ३० वर्षीय आरती सासु बिना र ससुरा शिव श्रेष्ठसँग तुलसीपुरमा बस्दै आएकी थिइन् ।
छोरी आरतीको सुन्दर भविष्यको कामना गर्दै कन्यादान गरि विवाह गराइदिएको शिव श्रेष्ठले बताए । ‘छोराछोरी नभई विधवा भएपछि अलपत्र परेका धेरैका छोरी छन्,’ श्रेष्ठले भने, ‘घर माइतीले उनका समस्या नबुझेर जिन्दगी भर दुःख पाएका पनि छन्, तर हामीले बुहारी पनि छोरी सरह हुन, हामीले छोरीको भविष्यका लागि घर पक्ष र माइतीका सबैको सल्लाहले विवाह गरिदियौं ।’
यो विवाहले बुहारी पनि छोरीसरह नै हुन् भन्ने सकारात्मक सन्देश दिएको र यसले महिला हिंसा न्यूनीकरणमा थप सहयोग पुग्ने अधिकारकर्मी सुस्मा गिरी बताउँछिन् । आरतीको विवाहमा यहाँका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेता, पत्रकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।
सत्यपाटी संवाददाता । दाङ