सूचनाको शक्ति - The Power Of Information

        

गाउँमै अल्ट्रासाउण्डबाट गर्भवतीको चेकजाँच

सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले गाउँमै गर्भवती महिलालाई लक्षित गरेर अष्ट्रासाउण्ड सेवा दिन थालेका छन् । ग्रामीण क्षेत्रका गर्भवती महिलालाई लक्षित गरी अल्ट्रासाउन्ड सेवा प्रदान गर्न थालेको हो ।

बनगाड कुपिण्डे नगरपालिका ५ च्युरामा रहेको बाझकोट स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । गर्भवती महिलाहरूलाई अल्ट्रासाउन्ड गर्न सदरमुकाम वा सुर्खेत जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्य चौकीमै अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलले बताए ।

‘गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रासाउन्ड अनिवार्य रहेको छ,’ उनले भने, ‘सुत्केरी हुन अघि गर्भावस्थामा बच्चा रहँदा पटक–पटक गर्नुपर्ने भिडियो एक्स–रे सेवाका लागि सदरमुकाम वा बाह्य जिल्लासम्म धाउनुपर्ने, पाँच सय रुपैयाँ तिर्नुपर्ने बाध्यता अव हटेको छ ।’

उपचार पनि महँगो, गर्भवतीलाई सदरमुकामसम्म जान आउन पनि समस्या भएपछि हामीले स्वास्थ्य चौकीबाटै घुम्ती रूपमा यो सेवा दिने निर्णय गरेको पोखरेलले जानकारी दिए । गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवाले स्थानीय महिलाहरू लाभान्वित हुने नगरप्रमुख कर्णबहादुर बुढाथोकीले बताए ।

‘अल्ट्रासाउन्ड गर्नकै लागि सदरमुकाममा रहेको सल्यान जिल्ला अस्पताल र सुर्खेत जानुपर्ने समस्याको समाधान गरी गाउँमै स्वास्थ्य सेवा दिन अल्ट्रासाउन्ड सेवा सुरु गरिएको छ,’ उनले भने, ‘नगरपालिकालाई शून्य होम डेलिभरी पालिका बनाउने अभियानमा लागेका छौँ ।’ जन्मनु अघि नै बालबालिकाको स्वास्थ्य अवस्था थाहा पाउन यो सेवा निःशुल्क सञ्चालन गरिएको नगरप्रमुख बुढाथोकीको भनाई रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १३:१०