सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश राजधानीका बालबालिकामा झण्डै दोब्बरले बढ्यो कुपोषण

सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्न थालेको पाइएको छ । जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार जिल्लामा कुपोषित बालबालिकाको संख्या बढेको पाइएको हो ।

कार्यालयले ११ महिना उमेरसम्मका बालबालिका र १२ देखि २३ महिना उमेर समूहका गरी कुल १३ हजार ७२४ जना बालबालिकामा परीक्षण गरेको थियो । आर्थिक वर्ष २०७६–०७७ मा सुर्खेतमा कुपोषित बालबालिकाको संख्या २४६ जना रहेको थियो ।

२०७७–०७८ मा २४८ जना बालबालिका कुपोषित थिए । यसैगरी २०७८–०७९ मा भने यो संख्यामा वृद्धि भई ४७५ जना पुगेको छ । जिल्लाको पालिकागत रूपमा हेर्दा कुपोषित बालबालिकाहरूको संख्या सबैभन्दा धेरै भेरीगंगा नगरपालिकामा छ । २०७६–०७७ मा भेरीगंगा नगरपालिकामा कुपोषित बालबालिकाको संख्या २७ जना थियो ।

अहिले यो संख्या बढेर २०७८–०७९ को अन्त्यमा १२१ जना पुगेको छ । सिम्ता गाउँपालिकामा ४३ जना, चिङ्गाड गाउँपालिकामा ३९ जना, लेकवेसी नगरपालिकामा ५४ जना, गुर्भाकोट नगरपालिकामा १९ जना, वीरेन्द्रनगर नगरपालिकामा १०३ जना, बराहताल गाउँपालिकामा २३ जना, पञ्चपुरी नगरपालिकामा ३२ जना छन् ।

यस्तै चौकुने गाउँपालिकामा ४१ जना बालबालिका कुपोषित रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ । २०७८–०७९ मा सुर्खेत जिल्लामा एक वर्षमुनिका बालबालिकाको संख्या सात हजार १२७ जना रहेको थियो । तर, सोही आर्थिक वर्षमा ६ महिनासम्म स्तनपान मात्रै गराएका शिशुहरुको संख्या भने तीन हजार ४१७ जना रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १३:०७