सूचनाको शक्ति - The Power Of Information

        

अपराधको अन्तर्राष्ट्रिय सञ्जाल

गर्भनर हटाउने ६३ करोडको धन्दा, जनार्दनमाथि छानबिन होला ?

राजनीतिक संरक्षणमा भएको अन्तर्राष्ट्रिय अपराधको रामकहानी

नेपालमा राजनीतिक संरक्षणमा कुन तहको संगठित अपराध मौलाइरहेको छ भन्ने तथ्य नेपाल प्रहरीले गरेको हालैको एक अनुसन्धानले प्रष्ट पारेको छ । उच्च तहको राजनीतिक संरक्षणमा करिब ३८ करोड रुपैयाँ विदेशीलाई ठगेर नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धानले देखाएको छ ।

अछामका पृथ्वीबहादुर शाह नेतृत्वको गिरोहले अमेरिकी तथा क्यानेडियन नागरिकलाई ठगी गरी ल्याएको रकम राजनीतिक संरक्षणमा बैंकिङ माध्यमबाट नै स्वदेश ल्याउँदै आएको थिए । यस्तो धन्दामा उनलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माकै साथ थियो । अर्थमन्त्री शर्माले नै उनको अवैध रकम भित्र्याउन सघाउँदै आएका थिए । जसमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी बाधक बनेपछि उनलाई निलम्बन गर्नेसम्मको काम भएको थियो ।

जसलाई सर्वाेच्च अदालतले पछि उल्टाइदियो । पछि प्रहरीले अनुसन्धान गर्दा सो रकम ठगीको भएको पुष्टि भयो । दुई महिनाअघि सीआइबीले शाह र उनका अन्य ६ सहयोगीलाई पक्राउ गरेकोमा यही साता मुद्दा प्रक्रिया अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउन राय दिएको छ । सोहीअनुसार सरकारी वकिल कार्यालयले मुद्दा चलाउने तयारी गरेको छ ।

सीआइबीले उनीविरुद्ध चार वटा मुद्दा चलाउन राय दिएको हो । ठगी, संगठित अपराध, लिखत कीर्ते र सहकारी ठगीको मुद्दा चलाउन सिफारिस भएको हो । शाहसहित यो मुद्दामा सात जना पक्राउ परेकोमा अन्य १३ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । अमेरिकी नागरिकलाई अनलाइनमार्फत ठगी गरी सो रकम नेपाल ल्याउँदै आएको सीआइबीले जनाएको छ । जसमा अमेरिकाबाट २४ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् ।

शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले दुई दर्जन कम्पनी खडा गरेको सीआइबीले जनाएको छ । विदेशी लगानी भन्दै ती कम्पनीका नाममा उनले अपराधिक पैसा ल्याउँदै आएका थिए । यसरी पैसा ल्याउन अप्रत्यक्ष रुपमा सघाएकोमा केही बैंकहरुमाथि समेत नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । खासगरी बृद्ध अमेरिकी नागरिकसँग सम्पर्क गर्ने एन्टी भाइरस अपडेट, अमेजनको विल भुक्तानी लगायतका विभिन्न वहानामा उनीहरुको डिभाइसमा पहुँच पुर्याएर अनलाइनमार्फत नै पैसा चोरी गर्दथे ।

यसमा अन्र्तराष्ट्रिय गिरोह नै उनले खडा गरेका थिए । उनले यसरी ल्याएको ३८ करोड बिलासितामा खर्च गरेको समेत प्रहरीले जनाएको छ । उनको बैंकमा रहेको पैसासमेत जफत गर्न लागिएको छ । यो विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छुट्टै अनुसन्धान गरिरहेको छ । शाहको समूहले काठमाडौं महानगरपालिका–७ मा खरिद गरेको एउटा जग्गामा लिखत मूल्य कम देखाई राजस्व र लाभ कर छलेको पनि सीआईबीले जनाएको छ । यसमा पनि छुट्टै अनुसन्धान गर्न सिफारिस भएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्दा सञ्चालक भागवत सुवेदीको कीर्ते औंठाछाप लगाएको भन्दै यसमा छुट्टै मुद्दा दर्ता हुन लागेको छ । उक्त कम्पनी नामसारी हुँदै रुक्मांगत काफ्लेबाट अनुप खड्काको नाममा सञ्चालनमा रहेको तर आर्थिक कारोबार पृथ्वीले गर्दै आएका थिए । उनीहरुबाट कुल ५६ जना ठगीमा परेको र तीमध्ये २४ जनाले उजुरी दिएको सिआइबीले जनाएको छ । शाहको समूहले ठगी गरी ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ नेपाल ल्याएको थियो ।

जसमध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरेकोमा बाँकी रकम फुकुवा गरेपछि बैंकहरु कारबाहीमा परेका हुन् । सीआइबीका एसएसपी दिनेश आचार्यका अनुसार शाहले अमेरिकाबाट मात्रै ४५ लाख ४६ हजार ६३९ डलर ठगी गरी नेपाल ल्याएका थिए । क्यानडाबाट तीन लाख ४० हजार क्यानेडियन डलर बेलायतबाट पाउन्ड स्ट्रलिङ २२ हजार गरी करिब ६३ करोड अवैध कारोबार गरेका थिए । जसमध्ये उनले राजनीतिक पहुँच प्रयोग गरी ३८ करोड ८६ लाख ६२ हजार निकाल्न सफल भएका थिए ।

ठगीबाट प्राप्त २४ करोड ८० लाख ३० हजार ४७२ रुपैयाँ भने नेपाल राष्ट्र बैैंकले रोक्का राखेर अनुसन्धानका लागि प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको हो । सोही रकमका लागि तत्कालीन अर्थमन्त्री शर्माले दबाब दिँदा बबन्डर मच्चिएको हो । सीआइबीका अनुसार शाहले अमेरिका, क्यानडा र बेलायतका ५६ व्यक्तिलाई ठगेका थिए । ठगिनेमध्ये २४ पीडितले सिआइबीमा जाहेरीसमेत दिएका छन् । उनीहरूले आफूहरूबाट शाहले ३८ करोड १७ लाख ९५ हजार ४८० रुपैयाँ (२८ लाख ९२ हजार ३९० अमेरिकी डलर) ठगी गरेको भन्दै जाहेरी दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्जाल

प्रहरीको अनुसन्धानमा शाहले अन्तरदेशीय सञ्जाल नै बनाएर यसरी विदेशी नागरिक ठग्दै नेपालमा पैसा ल्याएको देखिन्छ । गिरोहका मान्छेहरु धेरै जसो दुबई र पश्चिम बंगालमा छन् । केही अमेरिकामा समेत रहेको आँकलन गरिएको छ । उनीसँगै पक्राउ परेका विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र रंगबहादुर साउद भने उनलाई नेपालमा पैसा लुकाउन सहयोग गर्नेहरु हुन् । कतिपयलाई उनीहरूले इमेल आइडीमार्फत ठगी गर्दथे ।

विभिन्न कम्पनीको प्रतिनिधि बनेर बिल भुक्तानी तथा सेवाका लागि भनेर झुक्याउने र उनीहरुको खातामा रकम ‘ट्रान्सफर’ गरिदिन्थे । सम्पर्कमा आएका पीडितलाई ‘मनी लाउन्डरिङ’मा फसाइदिने भन्दै २४ जनालाई कतै पनि उजुरी नगर्न समेत धम्काउने गरेको खुलेको छ । कतिलाई रकम फिर्ता गरिदिएको नक्कली बैंक स्टेटमेन्ट बनाएर इमेल गरिदिन्थे । उक्त रकम उनीहरूले नेपाल र थाइल्यान्डमा पठाइसकिएको हुन्थ्यो । विदेशमा उनलाई सघाउने व्यक्तिहरुमाथि पनि सीआइबीले अनुसन्धान गरिरहेको छ ।

यसमा ठगीने धेरै अमेरिकी रहेको खुलेपछि सीआइबीले अनुसन्धानमा नेपालस्थित अमेरिकी दूतावासमार्फत अमेरिकाको एफबीआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन)को सहयोग लिएर यो घटनाको अनुसन्धान गरेको हो । एफबीआईकै सहयोगमा सीआइबीले ठगिएका २४ अमेरिकी नागरिकको जाहेरी संकलन गरेको हो । शाहविरुद्ध एक चरणमा अनुसन्धान सकिएपनि थप अनुसन्धान जारी नै रहने प्रहरीले जनाएको छ । सम्पत्ति शुद्धीकरणमार्फत हुने अनुसन्धानमा यसमा थप व्यक्तिहरु पर्न सक्ने सम्भावना छ ।

जनार्दनमाथि छानबिन होला ?

अपराधमा संलग्न व्यक्तिलाई जोगाउनेलाई पनि मतियारको रुपमा सजाय हुने कानुनी प्रावधान छ । पृथ्वीबहादुर शाह र उनको गिरोहलाई माओवादी केन्द्रका नेता तथा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संरक्षण गरेको र सघाएको पुष्टि भइसकेको छ । तर, उनीमाथि भने सीआइबीले अहिले छानबिन गर्ने आँट गरेको छै्रन । शाहको पैसा फुकुवा गर्न शर्माले गर्भनर अधिकारीलाई पटक पटक मौखिक दबाब दिएका थिए । मौखिक आदेश नमानेपछि मन्त्री शर्माले रकम फुकुवा गर्न लिखितरुपमै तोकआदेश नै दिएका थिए ।

सोही दबाब नमान्दा उनलाई निलम्बन गरिएको थियो । अधिकारीले त्यतिबेला सर्वाेच्च अदालतमा दायर गरेको रिटमै सो कुरा उल्लेख छ । निवेदनमा भनिएको छ, ‘प्रत्यक्षी मन्त्रीज्यूले विवादास्पद खाता फुकुवा गरिदिन म निवेदकलाई पटक पटक मौखिक रुपमा दबाब दिदा म निवेदकले यस बारेमा सर्वाेच्च अदालतमा रिट दायर भई सर्वाेच्च अदालतबाट समेत खाता खोल्ने विषयमा अन्तरिम आदेश नभएको कुरा गराउँदा गराउँदै सोलाई समेत बेवास्था गरी मिति २०७८-१२-१५ मा खाता खोल्न लिखित निर्देशन दिनु भएको र बैंकले सो निर्देशन कार्यान्वायन नगरेको कारण उहाँ मप्रति पूर्वाग्राही हुनुभएको हो ।’

यसका आधारमा पनि सो अपराधमा शर्माको नीतिगत संलग्नता प्रष्ट हुन्छ । तर, सत्तारुढ दलका प्रभावशाली नेता भएकाले प्रहरीले उनीमाथि अनुसन्धान गर्न सकेन । नेपालमा ठूला किमिसका धेरै अपराधमा राजनीतिक नेतृत्व जोडिने गरेको छ । तर, त्यस्ता घटनामा अनुसन्धानमा नेतृत्वतहसम्म पुग्न सक्ने गरेको छैन । प्रहरी दलहरुको खेलौना बनेका कारण पनि राजनीतिक नेतृत्व यसमा जोगिदै आएको छ भने देशको हरेक क्षेत्रमा अपराधिकरण मौलाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार ०९:४५