नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण देश हो । यहाँको डाँडाकाडा, पाखापखेराले मानिसको आँखा लोभ्याउँछ । जलस्रोतको दोस्रो धनी देश नेपालको हावापानी पनि सन्तुलित छ । यहाँको माटो पनि उर्वर छ । खेतीपातीका लागि अत्यन्तै सुहाउँदो माटो छ । केही समय अघिसम्म नेपालमा धेरै उब्जाऊयुक्त जमिन थियो । चार दशक अघिको कुरा गर्ने हो भने नेपाल खाद्यान्न निर्यात गर्ने मुलुक हो । धान, मकै, कोदो, सिमी, मस्याङ्ग लगायतका अन्न अन्य मुलुकलाई बेच्ने गरिन्थ्यो । नेपाल सरकारले कतिपय देशलाई अनुदानमै अन्न दिने गरेको थियो ।
त्यतिबेला नेपालले केही पनि आयात गर्नुपर्दैनथ्यो । लुगा पनि नेपालमै उत्पादन गरिन्थ्यो । आफ्नो आवश्यकता आफ्नै उत्पादनबाट परिपूर्ति हुँदै आएको थियो । तेलका लागि तोरी छर्थे । घ्युका लागि गाईंभैंसी पाल्थें । आफ्नै खेतबारीमा फलेको अन्नबालीबाट गुजारा गर्ने प्रचलन थियो । नेपाली मुद्रा विदेश जान दिँदैनथे । यता, नेपाल सरकारलाई विदेशी ऋण लिनुपर्ने आवश्यकता थिएन । अधिकांश कृषि पेशामा जोडिएको भएकाले कोही बेरोजगार थिएनन् । बिहानदेखि बेलुकासम्म आफ्नै खेतमा मलजल गर्नेलाई रोग पनि लाग्दैथ्यो ।
उनीहरु जति थियो त्यतिमै सन्तुष्ट थिए । व्यापार घाटा थिएन् । विषादीयुक्त सामान किनेर खानुपर्ने बाध्यता नभएकाले धेरै हृष्टपुष्ट थिए । जे भएपनि मुलुक आत्मनिर्भर थियो । तर, अहिले परिस्थिति ठ्याक्कै उल्टो बनेको छ । विदेशी ऋण दिनहुँ बढिरहेको छ । एउटै नेपालीको टाउको ८० हजार रुपैयाँ विदेशी ऋण पुग्न थालिसकेको छ । यता, व्यापार घाटा पनि ह्वात्तै बढेको छ । हुन त हामी नेपाली हौं भन्छौं । नेपाली नागरिकता बोक्छौं, नेपाली टोपी लगाउँछौं । तर, हाम्रो भान्छामा पाक्ने हरेक खाद्यान्न विदेशी मुलुकबाट आयात भइरहेको छ ।
चामल, तेल, गेडागुडी, दाल, पिठोलगायत सबै खानेकुरा नेपालले आयात गर्छ । त्यही किनेर बिहानबेलुका उपभोग गरिरहेका छौं । अनि हामी नेपाली हौं भनेर गर्व गरिरहेका हुन्छौं । के आधारमा आफूलाई नेपाली भन्ने ? अरु देशले खाद्यान्न बिक्री गर्न छोड्यो भने नेपाली भोकभोकै मर्छन् । बाहिरबाट आयात गरेको खाद्यान्न खानलायक पनि छैन् । विषादीयुक्त खानेकुराहरु आयात भइरहेका छन् । जसले गर्दा नेपालीलाई विभिन्न थरीका रोगले च्यापेको छ ।
एकातिर मँहगो मूल्य तिरेर सामान किन्नुपर्ने अर्कोतिर त्यही खाएर बिरामी हुने । विषादीयुक्त खाद्यान्न बेचेर अन्य मुलुकले नेपालीलाई बिरामी पारेको छ । यता, उपचारको नाममा पनि नेपाली पैसा धमाधम आफ्नो मुलुक भित्र्याइरहेका छन् । नेपालमा कृषियोग्य जमिन नहुँदा धेरै बेरोजगार बनेका छन् । नेपालीलाई विलासीपूर्ण जिन्दगी जिउने बानी परिसकेको छ । छोटो दुरीमा यात्रा गर्न पनि सवारी साधनको प्रयोग हुन्छ । तर, त्यो सवारी साधन कुन मुलुकले बनाएको हो ख्याल गरिँदैन् । यता, पेट्रोल पनि खरिद गर्नुपर्ने बाध्यता छ ।
नेपालमै पेट्रोल उत्पादन हुँदैन । अहिलेसम्म भारतबाट किनेर सवारी साधन चलाइरहेका छौं । भारतले इन्धन नबेच्ने भनेर घोषणा गरिदियो भने ती सबै सवारी घरघरमा थन्किन्छन् । सवारी साधन र इन्धन दुवै बेच्ने भारत । भोलि उसैले प्रतिबन्ध लगाइदियो भने अहिले जतिपनि सवारी साधन छ त्यो सबै रद्दीमा जान्छ । अरु देशले नेपाललाई आफ्नो व्यापार गर्ने थलो बनाइरहेका छन् । कृषिसंग सम्बन्धित थुप्रै मन्त्रालय र विभाग छन् । तर, तिनले केही काम गर्ने होइनन् । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन न कृषि तथा पशुपन्छी मन्त्रालयले भूमिका खेल्छ न कृषि विभाग ।
भूमि सुधार मन्त्रालय र विभाग किन चाहियो ? यी निकाय खारेज गरिदिए हुन्छ । बेकारमा मन्त्री र कर्मचारीलाई किन तलबभत्ता खुवाउने ? हरेक सामान बाहिरबाट आयात गर्नुपरेको छ । सरकारसँग भूमि जोगाउने र नेपालीलाई कृषि पेशामा आवद्ध गर्ने कुनै रणनीति छैन । जनता बिहानबेलुका छाक टार्न अरुको मुख ताक्नुपर्छ भने सरकारको के काम ? सरकारले खेतीयोग्य जमिन मासेर घर बनाउन दियो । धमाधम बाटो बनाइयो । उब्जनी हुनलाई त माटो चाहियो नि । माटोमाथि ढलान हालेपछि खेती गर्न मिलेन ।
सरकारले बेलैमा सोचविचार नगर्दा नेपालीहरु भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । पैसा हुनेले महँगोमै किनेर भए पनि बिहान बेलुकाको गुजारा गर्लान् । तर, आम्दानीको स्रोत नहुनेहरु त भोकले नै आत्महत्या गर्नुपर्ने अवस्था बनेको छ । इँट्टा टोक्न मिलेन्, अन्न नै चाहिन्छ । भोक लाग्दा घरको ढलान कोतारेर खान मिल्दैन । खाद्य बिना मानिस क्षणिक पनि बाँच्न सक्दैन । कृषियोग्य जमिन माँसेर घर बनाउनु दिनु सरकारको गल्ती हो । भूमि सुधार मन्त्रालय र भूमि विभागले राजस्वको लोभमा परेर कृषियोग्य जमिन तहसनहस बनाइदियो ।
जग्गा प्लानिङ गर्दा नि राजस्व आउने, घर बनाउँदा पनि राजस्व पाइने । राजस्वको पछि लाग्दा मुलुक परनिर्भर बन्यो । आफ्नो देश कंगाल, अरुको देश मालामाल । खाद्यान्न नै आयात गर्ने देश कहिले उभो लाग्छ ? अहिलेसम्म मँहगो तिरेर बासी खाना नेपालीले खाइरहेका छन् । भोलिका दिनमा केही कारणबस् अन्य मुलुकले नाकाबन्दी गरिदियो भने नेपालको हालत के हुन्छ ? नेपाली जनताको पेट सरकारले कहाँबाट ल्याएर भर्छ ? नेपाल संकटले घेरिएको छ । ४० वर्षअघि रोपनीको एक लाख नपर्ने जग्गा अहिले करोडौं पर्न थालिसकेको छ ।
जग्गाको मूल्य यसरी बढ्नुको कारण के त ? सरकारले जग्गा खरिदबिक्री गर्न रोक लगाएन । जसको फाइदा भूमाफिया र जग्गा दलालीहरुले उठाए । यता, एक लाखमा जग्गा बेच्ने पनि सुकुम्बासी बने उता करोडमा किन्ने पनि सोत्तर बने । कमाए त जग्गा दलाली र भूमाफियाले मात्र । पछिल्लो समय जग्गाको मूल्यमा ह्वात्तै गिरावट आएको छ । जसले गर्दा खरिदकर्ताहरु चुलुम्मै डुबेका छन् । जग्गा खरिदबिक्री गर्ने क्षेत्र होइन् । माटो नभईकन देश चल्छ ? राम्रो माटो नहुँदा र सिँचाई गर्ने पानी नहुँदा कतिपय मुलुकमा भोकमरी लागेको त हाम्रै आँखाले देखेका छौं, सुनेका छौं ।
तर, नेपालको माटो त मलिलो थियो । सिँचाइ गर्नलाई पानी पनि थियो । तर, सरकारले ख्यालख्याल गर्यो । विकसित मुलुकमा खेतीयोग्य जमिनमा घर बनाउन दिँदैन् । जग्गा वर्गीकरण गरिन्छ । तर, नेपालको हकमा हेर्ने हो भने जहाँ पनि घरैघर छन् । सरकार राजस्व आउँछ भनेर सबै खुल्ला छोडिदिने । बैंक तथा वित्तिय संस्था त्यही कर्जा लगानी गर्ने अनि देशको अर्थतन्त्र संकटमा पार्ने । अहिले नेपालको परिस्थिति त्यस्तै बनेको छ । जग्गा सरकारको स्वामित्वमा हुनुपथ्र्यो । तर, सरकारले त्यो पनि गर्न सकेन् ।
सरकारभन्दा भूमाफिया र जग्गा दलाली बलियो हुँदा यस्तो अवस्था निम्तियो । गर्ने सरकार र भूमाफियाले तर मर्ने जनता । अहिले जति पनि घर बनेका छन् तीमध्ये ९५ प्रतिशतको घर बैंकको नाममा छ । केही समययता घरजग्गा किनबेचमा पूरै मन्दी आइसकेको छ । अब बैंकले कसरी कर्जा उठाउँछ ? देशको अर्थतन्त्र डामाडोल बनिसकेको छ । बैंक, फाइनान्स र सहकारीले छिटो नाफा कमाउने सपना देख्दा आज डुब्ने अवस्थामा पुग्यो । सरकारले बेलैमा नियमन गरेको भए अन्य मुलुकले नेपाललाई च्याप्न पाउँदैनथ्यो ।
राज्यले छापेको सबै पैसा घरजग्गामा गएर फ्रिज भएको छ । जसले गर्दा बजारमा तरलता देखिएको छ । भूमाफियाहरुले आफू कमाउनका लागि राज्य र जनता दुवैलाई डुबाए । यता, बैंक, फाइनान्स पनि बन्द हुने बेला भइसकेको छ । सहकारी त ठप्पझैं बनिसकेको छ । चार दशकअघि एउटै व्यक्तिसंग १० रोपनीसम्म जग्गा थियो । तर, अहिले त्यो व्यक्तिसंग जम्मा दुई आना जग्गा छ । उसले जग्गा बेचेर छिनका लागि मोजमस्ती गर्यो । जसका कारण अहिले सुकुम्बासी बन्नुपर्यो । तीन आना जग्गा किनेर पाँच तलाको घर ठड्याइयो ।
उसको दाउ भनेको भाडामा लगाएर बसिबसि खाने हो । जसको असर अहिले देखिएको छ । आम्दानी नभएर धेरैले कोठा छोडिसकेका छन् । व्यापार व्यवसाय नहुँदा धेरैले पसल गर्न पनि छोडेका छन् । कोठा भाडामा लगाएर खान्छु भन्नेको सपना पनि चक्नाचुर बनेको छ । अबको स्थिति थप जटिल बन्ने छ । महँगी झनै बढ्छ, देशको अर्थतन्त्र थप संकटमा पर्छ । राजस्व उठ्न छोडिसकेको छ । घरजग्गामा पूरै मन्दी छाएको छ । सरकारी खर्च धान्न नसक्ने भइसकेको छ ।
अनुसा थापा । काठमाडौं