नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा गर्नु हुने भएको छ ।
पौडेल अहिले केही बेरमा पशुपतिनाथ पुगेर दर्शन तथा पूजा गर्ने कार्यक्रम रहेको छ ।
नव–निर्वाचित राष्ट्रपति पौडेल पूजाका लागि जाने भएपछि पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि सुरक्षा बढाइएको छ ।
पशुपतिमा पूजापछि पौडेल शुक्रबार नै सुन्दरीजल पुगेर त्यहाँस्थित स्वर्गीय बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्ने र संग्रहालयको अवलोकन गर्ने कार्यक्रम पौडेलको सचिवालयले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले शुक्रबार बिहान सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गर्नुभएको छ । निर्वाचन आयोगले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको विवरण बुझाउँदैछ ।
आयोगले विवरण बुझाएपछि पद हस्तान्तरणको प्रक्रिया सुरु हुनेछ । राष्ट्रपति भण्डारीको कार्यकाल यही २८ गते सकिने भएकाले त्यस अघि नै नयाँ राष्ट्रपति पौडेलेको सपथ ग्रहण हुने शीतलनिवासले जनाएको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नवनिर्वाचित राष्ट्रपति पौडेललाई पद तथा गोपनियताको सपथ गराउनु हुनेछ ।
नवनिर्वाचित राष्ट्रपतिको सपथलगत्तै निवर्तमान हुने राष्ट्रपति भण्डारी शीतलनिवासबाट बाहिरिनु हुनेछ ।
सत्यपाटी संवाददाता । काठमाडौँ