सूचनाको शक्ति - The Power Of Information

        

नेप्सेमा ५० अंकको वृद्धि

काठमाडौँ – साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।

पछिल्लो एक हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार ५०.०४ अंक बढेर २००२.७० बिन्दुमा पुगेको हो। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ९.२७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२१ अंकले बढेको छ।

बिहीबार वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निणर्य गरेसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको हो। बैंकर्स संघले बैंकहरुले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेका छन्।

बिहीबार कारोबारमा आएका २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबार १ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यता होटल तथा पयर्टन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

बिहीबार नेप्से परिसूचक उच्च अंकले बढेसँगै शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नेपाल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशत, शिवश्री हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ।

आज शिवम सिमेन्ट्स कम्पनीको ७ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १८:३१