सूचनाको शक्ति - The Power Of Information

        

पिएनजीविरुद्ध नेपालको शानदार जित

आईसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम तथा निर्णायक सिरिजमा नेपालले पपुवा न्यु गिनी (पिएनजी)विरुद्ध शानदार जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पिएनजीलाई ५२ रनले पराजित गरेको हो। टस हारेर पहिले व्याटिङ गरेको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनाएको थियो।

नेपालका लागि आसिफ शेखले शतक प्रहार गरे। ११० बल खेलेका उनले १२ चौका र २ छक्काको मद्दामा ११० रन जोडे। यस्तै, कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, कप्तान रोहित पौडेलले ३०, आरिफ शेखले १५ र ज्ञानेन्द्र मल्लले ११ रन बनाए।

२९८ रनको लक्ष्यसहित जवाफी व्याटिङ गरेको पिएनजीले ४७.१ ओभरमा अलआउट हुँदै २४५ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले दुई र कुशल मल्लले एक विकेट हात पारे।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १८:२७