नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।
कस्तो छ रामचन्द्रको राजनीति ?
वि.सं २००० असोज २९ गते तनहुँको व्यास नगरपालिकामा बुबा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलबाट रामचन्द्र पौडेलको जन्म भएको हो । संस्कृतमा शास्त्री, नेपालीमा एम.ए गरेको पौडेलले राजनीतिबाहेक अन्य पेसा व्यवसाय अंगालेनन् । राजनीतिलाई नै आफ्नो जीवन मानेर हिँडेका उनी निरन्तर सत्ताको छेउछाउमा रहिरहे ।
पुराना राजनीतिज्ञको रूपमा परिचित पौडेलले सांसद, मन्त्री, उपप्रधान एवं गृहमन्त्री हुँदै प्रतिनिधिसभाको सभामुखसमेत भएर काम गरिसकेका छन् । बिपी कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका ७९ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै सुरु भएको हो ।
पञ्चायतविरोधी आन्दोलनमा लागेका कारण उनी पटक–पटक गरी १३ वर्ष जेल परेका छन् । १६ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रूपमा लागेका पौडेलले बिपी कोइरालाको चेला भएर काम गरेका छन् । ०१७ सालमा राजा महेन्द्रले बिपीलाई जेल हालेपछि उनी सक्रिय राजनीतिमा होमिएका हुन् ।
०१८ मा कांग्रेसले सञ्चालन गरेको सशस्त्र क्रान्तिमा सक्रियतापूर्वक लागेका उनी ०२३ मा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापतिमा निर्वाचित भए । ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव बनेका उनी ०२७ सालमा नेविसंघको स्थापनामा सहभागिता जनाए ।
०१७ देखि ०४६ सालसम्म विभिन्न कालखण्ड गरेर १३ वर्ष जेलजीवन बिताएका उनलाई पार्टीले ०४० सालमा केन्द्रीय प्रचार समितिको संयोजक बनाएको थियो । प्रतिगमनविरोधी आन्दोलनमा अग्रपङ्क्तिमा रहेका पौडेल पछिल्लोपटक एक वर्षसम्म नजरबन्दमा परेका थिए । २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल ०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि ०४८ को निर्वाचनमा पहिलोपटक सांसद बने ।
तनहुँ १ बाट विजयी बनेका उनी ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । ०५१ सालमा सभामुखका लागि भएको निर्वाचनमा उनी विजयी बने । पाँच वर्ष सभामुख भएर काम गरेका पौडेल ०५६ सालमा तनहुँ–२ बाट तेस्रोपटक सांसदमा निर्वाचित भए ।
उनी ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री बने । त्यसबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । ०६२ सालमा कांग्रेस महामन्त्री बनेका पौडेलले माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालयको संयोजक भएर काम गरेका छन् । ०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए । त्यसबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।
०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा पौडेल तनहुँ २ बाट चौथोपटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । संसदीय दलको नेतामा चुनिए पनि प्रधानमन्त्री बन्ने धोको अधुरै रह्यो । उनले प्रधानमन्त्री पदमा १७ पटकसम्म पराजय भोगेको इतिहास छ ।
०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको निर्वाचनमा उनले १७ पटक पराजय भोगेका थिए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा पौडेल तनहुँ २ बाट पाँचौँपटक निर्वाचित भए । ०७४ सालको निर्वाचनमा पराजित बनेका पौडेल ०७९ मा भने विजयी बने । निरन्तर सत्ताको यात्रामा रहेका पौडेल ०६३ यता पहिलो पटक राजकीय पदमा पुगेका हुन् ।
सत्यपाटी संवाददाता । काठमाडौं