सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति निर्वाचन

राष्ट्रपति चुनावको मतदान सकियो, साढे ३ बजेदेखि गणना, आजै नतिजा

संघीय संसद् भवनमा जारी राष्ट्रपति पदको निर्वाचनको मतगणना आजै सम्पन्न गरी विजेतालाई प्रमाणपत्रसमेत प्रदान गरिने भएको छ ।

राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङका प्रतिनिधि तथा निर्वाचन आयोगका सदस्यबीच भएको छलफलमा सो सहमति भएको हो ।

नेम्वाङका प्रतिनिधि रहेका सांसद महेशकुमार बर्तौलाले आयोगसँगको छलफलमा मतगणनाका मापदण्डका विषयमा छलफल भएको जानकारी दिए ।

उनले भने, ‘रामचन्द्रजीका प्रतिनिधि रमेश लेखकसहितको बैठकले कस्ता कस्ता मत बदर गर्ने, कस्ता मतलाई सदर गर्ने विषयमा छलफल भयो ।’

यसअनुसार स्वस्तिक छापबाहेक मत सङ्केत गरेका मतपत्र बदर हुने सहमति भएको छ । त्यस्तै, मतपत्रको बाकस बाहेक अन्य ठाउँमा सङ्केत गरिएको मतपत्र पनि बदर हुने भएको छ ।

बर्तौलाका अनुसार साढे ३ बाट मतगणना सुरु हुनेछ । मतगणनास्थलमा संघीय संसद् र प्रदेशसभाको मतगणना फरक–फरक स्थानमा गरिनेछ । जसमा दुवै उम्मेदवारका १–१ जना प्रतिनिधि हुनेछन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १५:१२