आज नारी दिवस !
एक्काइसौँ शताब्दी !
अझै पनि समानताको नारा गुन्जिरहेछ,
शिक्षा, साहस, आत्मविश्वास
क्षमतावान् आधुनिक नारी
अझै अधिकारको लागि
लड्नु परेको छ ।
दुई पलको खुसी जुटाउन
हम्मेहम्मे परेको छ ।
सशक्तीकरणका आवाजहरू
रहस्यमय ढङ्गले रेटिएको
दिनप्रतिदिन अझै भेटिएको छ ।
हिजोको त्यो समाज
केलाउँछु,
जहाँ तिम्रो जीवन तिम्रो थिएन ।
प्रत्येक क्षण अरुकै इसारा
प्रतिस्वर, प्रतिकार होइन
मात्र सुस्केरा थियो
मनको बह मेटाउन ।
कति दुख्यो होला त्यो छाती
चरक्क चिरिन्छ मुटु,
सम्झिँदा पनि
तिम्रो अतित अनि
मेरो वर्तमान ।
तिमीले नबुझेर भोग्यौ
धर्म सम्झेर ।
म बुझ्दैछु, भोग्दैछु अनि जोख्दैछु ।
कहाँ छ समानता … ?
मात्र शब्दमा अनि भाषणमा ?
प्रतिक्षा स्मृति । दाङ