सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति निर्वाचन आज

नेपालको चौथो राष्ट्रपतिका लागि दुई पूर्वसभामुख मैदानमा

गणतन्त्र नेपालको चौथो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन आज हुँदैछ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)का उमेदवारले प्रतिष्पर्धा गर्दैछन् ।

निर्वाचन प्रक्रिया आज बिहान १० बजेबाट संघीय संसद् कार्यालय बानेश्वरमा सुरु हुँदैछ । निर्वाचन आयोगले १० बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको छ ।

निर्वाचन आयोगका अनुसार नतिजा आजै सार्वजनिक हुनेछ । नतिजा सार्वजनिक हुनेबित्तिकै नेपालले चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउनेछ ।

निर्वाचनमा ८८२ मतदाताले भाग लिने आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा उल्लेख छ । नेपाली कांग्रेसबाट उमेदवारको रूपमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।

यस्तै, नेकपा एमालेका तर्फबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उमेदवार छन् । कांग्रेस उमेदवार रामचन्द्र पौडेललाई आठ दलले समर्थन गरेका छन् ।

कांग्रेस बाहेक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

एमाले उमेदवार सुवास नेम्वाङलाई भने अन्य दलले सहयोग गरेका छैनन् । राष्ट्रपतिको प्रतिस्पर्धाका लागि दुवै उमेदवार पूर्वसभामुख हुन् ।

२०५१ सालको संसद्मा कांग्रेस नेता रामचन्द्र पौडेल सभामुख बनेका थिए भने नेम्वाङ २०६४ र २०७० को संविधानसभा अध्यक्ष हुन् । उनी ०६३ मा पुनर्स्थापित संसद्को सभामुख हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार ०७:१७