सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति निर्वाचनको तयारी पूरा, बुथमा मोबाइल लैजान प्रतिबन्ध

बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । राष्ट्रपति पदको निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्य मतदाता रहने भएकाले उनीहरुलाई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

बुथमा मोबाइल लैजान प्रतिबन्ध

राष्ट्रपति निर्वाचनमा मतदाताले कुनै पनि मोबाइल लगायतका कुनै पनि उपकरण लैजान नपाउने भएका छन् । मतदानस्थलमा मतदाताले बुथमा मोबाइल फोन लगायत कानुनले निषेध गरेका उपकरणहरू बोकेर जान नपाउने भएका हुन् ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनका लागि सबै तयारी पूरा भएको पनि जानकारी दिए । उनले भने, ‘सुरक्षाकर्मीले आवश्यक सुरक्षा जाँच गर्छन्, यो गोप्य मतदान हो, बुथमा जाँदा मोबाइल लगायत कानुनले निषेध गरेका कुनै पनि उपकरण लैजान मिल्दैन ।’

राष्ट्रपतिका लागि कांग्रेस, माओवादी केन्द्रसहित नौ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् । बिहीबार ४ बजेबाट मत गणना सुरु गर्ने र साँझ ७ बजे मत परिणाम घोषणा गर्ने आयोगको तयारी छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १७:०६