सूचनाको शक्ति - The Power Of Information

        

उच्च दर्जामा महिला प्रहरीको सङ्ख्या न्यून

प्रहरीमा जवानदेखि एआइजीसम्म ११ प्रतिशत मात्रै महिला

कुन पदमा कति महिला प्रहरी ?

अहिले नेपाल प्रहरीको कूल जनशक्ति ७५ हजार ४०० रहेको छ । जसमा महिला प्रहरीको सङ्ख्या ८ हजार ९६९ छ । ३३ प्रतिशत महिलाको सहभागिता भनिरहँदा प्रहरी संगठनमा भने मुस्किलले ११ प्रतिशत मात्र छ ।

तर, पनि अझै प्रहरी संगठनको उच्च दर्जामा भने महिला प्रहरीको सङ्ख्या न्यून नै रहेको छ । ६ दशक लामो इतिहासमा अहिलेसम्म महिला प्रहरी महानिरीक्षकको भूमिकामा पुग्न सकेका छैनन् । तर, अहिले पहिलो पटक महिला प्रहरी प्राविधिक बाहेक अतिरिक्त महानिरीक्षक (एआइजी) बन्न सफल भएकी छिन् ।

गत जेठमा डीआइजी पूजा सिंह एआइजीमा नियुक्त भएकी थिइन् । प्राविधिक तर्फका विभागमा अहिले पनि महिलाको नेतृत्व देखिन्छ । नेपाल प्रहरीमा पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हुन्, डाक्टर दुर्गा थापा ।

सबैभन्दा उच्च पदमा पुगेकी दुर्गा प्रहरीको प्राविधिकतर्फ थिइन्, प्रहरी चिकित्सक । तीस वर्षे सेवा अवधिका कारण २०७६ पुसमा उनले अवकाश पाइन् । अहिले एआईजी डाक्टर आशा सिंहले नेपाल प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छिन् ।

पछिल्लो समय संगठनमा महिला प्रहरीले जिल्ला, विभाग, व्यूरो, वृत लगायतको नेतृत्व गर्ने मौका पाएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पनि अहिले महिला प्रहरीकै कमाण्डमा रहेको छ । डीआइजी मिरा चौधरीले अहिले ट्राफिक प्रहरीको नेतृत्व गरिरहेकी छिन् ।

काठमाडौंका मेयर बालेन साहको पार्किङ व्यवस्थापनमा डीआइजी चौधरीको भूमिका अहम् देखिएको थियो । त्यसैगरी, अब फेरिने प्रहरी महानिरीक्षकको दौडमा महिला प्रहरी पनि दाबीको साथ देखिएका छन् । चार जना महिला प्रहरी (डीआइजी) महानिरीक्षकको दाबेदार बनेका छन् ।

त्यस्तै, प्राविधिकतर्फ एसएसपी देउती गुरुङले पनि इन्चार्जको जिम्मेवारी सम्हालिरहेकी छिन् । उनी केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जको इन्चार्ज हुन् । काठमाडौं जिल्लाको महत्वपूर्ण वृत मानिने दरबार मार्गमा पनि अहिले महिला प्रहरी (डीएसपी)कै कमाण्ड रहेको छ ।

अहिले प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा चार जना महिला प्रहरी कार्यरत रहेका छन् । जसमा डीआइजी मिरा चौधरी, दुर्गा सिंह, किरण बज्रचार्य र किरण राना रहेका छन् । उनीहरु २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।

पहिलो पटक आइजीको लागि एकै पटक धेरै महिला दाबेदार बनेका हुन् । उनीहरु आगामी चैत ११ पछि चयन हुने प्रहरी महानिरीक्षकका दाबेदार हुन् । हालका प्रहरी प्रमुख (आइजी)ले चैत ११ गतेबाट अवकाश पाउँदैछन् ।

कुन पदमा कति महिला प्रहरी ?

प्रहरीमा महिला प्रहरी जवान सबैभन्दा धेरै छन् । त्यसो त प्रहरी संगठनमा सबैभन्दा धेरै सङ्ख्या भएको पद जवान नै हो । ४ हजार ३२१ जना महिला प्रहरी जवान छन् । जबकी कुल पुरुष प्रहरीको सङ्ख्या ३७ हजार ८४९ रहेको छ ।

नेपाल प्रहरीभित्र ५५ जनाभन्दा बढी एसएसपी रहेका छन् । जसमा महिला एसएसपीको सङ्ख्या ४ रहेको छ । एसपी दर्जामा रहेका प्रहरीभित्र कार्यरत महिला प्रहरीको सङ्ख्या ८ रहेको छ । अहिले देशभर एसपीको सङ्ख्या १५५ भन्दाबढी रहेको छ ।

३१ जना महिला प्रहरी डीएसपी रहेका छन् । त्यस्तै, प्रहरी निरीक्षक हुनेको सङ्ख्या १४३ रहेको नेपाल प्रहरी प्रवक्ता डीआइजी पोषराज पोख्रेलले जानकारी दिए । प्रहरी नायव निरीक्षक (सई) को सङ्ख्या २१४ रहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १४:२२