नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन् । पाइलट भावना गिरी पन्तसँगै कोपाइलट श्रृजना राउतको टोलीले उडान भरेका हुन् । एयर बस ३२० जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेस सबै महिला रहेका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँ इतिहास बनाएको हो । यूएईबाट काठमाडौंका लागि आज बिहान ४ बजेर ५५ मिनेट जाँदा उडेको उक्त जहाजमा सबै क्रू मेम्बर महिला रहेको निगमले जनाएको छ ।

जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । त्यस्तै एयर होस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगीता केसी र अनिशा प्रजापति रहेका छन् ।
निगमले महिला दिवसका अवसरमा एउटा उडान सबै महिला क्रू मेम्बरबाट गराएको हो । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले नेपालको अन्तर्राष्ट्रिय उडान इतिहासमा यो नै सबै क्रू मेम्बर महिला भएको पहिलो उडान रहेको बताए ।


सत्यपाटी संवाददाता । काठमाडौं