सूचनाको शक्ति - The Power Of Information

        

उपल्लो मुस्ताङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा

उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोम लगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो वर्षको पहिलो पटक हिउँ परेको बताए ।

मार्फामा रहेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले तल्लो क्षेत्रमा पानी परिरहेको र डाँडामा हिउँ जमेको बताए । ‘जमिन तातेकाले हिउँ जमिसकेको छैन,’ उनले भने ‘डाँडा भने सेताम्मे भएका छन् ।’ मौसम चिसो भएपछि जमिनमा हिउँ जम्ने लालचनले बताए ।

खेतीपातीका लागि ढिलै भए पनि हिउले फाइदा गरेपनि वर्षाले राम्रो नगर्ने कृषि प्राविधिकको भनाइ छ । ‘हिउँले शितोष्ण बालीलाई फाइदा पुग्छ तर पानी मात्र पर्दा त्यति राम्रो मानिदैन,’ कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले भने ।

उनका अनुसार हिउँले जमिनको सतहलाई भित्री सतहसम्म सिँचाइ गर्ने, अन्नबाली सप्रिनुको साथै फलफूल र तरकारी फल्न र फूल फुल्नमा सहयोग पुग्छ । स्याउको फूल खेल्न र परागसेचन प्रक्रियाका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १२:१७