सूचनाको शक्ति - The Power Of Information

        

जनकपुरका मेयर मनोजकुमार ‘महामुर्ख’, पत्रकार ऋषि धमला ‘पटमुर्ख’

जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित महामुर्ख सम्मेलनमा आफूलाई महामुर्खको उपाधि दिइयोस् भन्ने इच्छाका साथ जनकपुरधामको जानकी मन्दिरमा बौद्धिक जमात घण्टौंसम्म प्रतिक्षारत थियो । सम्मेलनमा आफूलाई महामुर्ख घोषित गराउनका लागि वडाध्यक्ष, मेयरदेखि प्रदेशसभा सदस्यहरु समेत पैरवी गरिरहेका थिए ।

मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलनमा महामुर्खको उपाधि प्राप्त गर्न जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह सफल भएका छन् । महामुर्खको उपाधि पाएपछि नगरमेयर साहको अनुहारमा अनौठो मुस्कान समेत देखियो । उनलाई प्रशस्ती पत्र, लाटोकोसेरोको मुकुट, मालाले सुशोभित गरी सम्मान गरिएको छ ।

पत्रकार ऋषि धमलालाई पटमुर्ख, पत्रकार वीरेन्द्र रमणलाई सोटाचन्द, मटिहानी नगरपालिकाका नगरमेयर हरिप्रसाद मण्डललाई वैशाखनन्दन, नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाललाई खबसुरता, शिक्षक संजय झा लोढाशंकर, बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्रि किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख, मोनाष्टिक विद्यालयका डा. सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधि प्रदान गरिएको थियो । सम्मेलनमा सहभागी कविहरुले आ–आफ्नो कविताको माध्यमले विभिन्न विषयवस्तुमाथि कटाक्ष समेत गरेका थिए ।

महामुर्खको उपाधि दिने विगत २७ वर्षको परम्परा अनुसार यसअघि मिनापले कवि नरेश ठाकुर, मधेश प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, तमलोपाको बरिष्ठ नेता डा.विजयकुमार सिहं, राजनीतिक विश्लेषक सीके लाल, नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, जनकपुरधाम उपमहानगरपालिकाका तत्कालिन मेयर लालकिशोर साह, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, मह जोडी अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य र पछिल्लो वर्ष डा.भोगेन्द्र झालाई महामुर्खको उपाधि प्रदान गरी सकिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १८:४७