सूचनाको शक्ति - The Power Of Information

        

रंगहरुको पर्व फागु

पहाडबाट सुरु भई तराईमा पुगेर सकियो होली (तस्वीर कथा)

यो पर्वले सौहार्द, सद्भावना, शान्तिपूर्ण समाज र सहअस्तित्वको सन्देश दिन्छ ।

रंगहरुको पर्व होली अर्थात् फागु पर्व हिजो पहाड र आज तराईमा धुमधामसँग मनाएर यस बर्षको सकिएको छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ ।

पहाडी क्षेत्रमा हिजो नै होली सकिएको छ भने तराई क्षेत्रमा आज सकिएको हो । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सकिएको छ ।

तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै धुमधामसँग होली पर्व मनाइएको छ । असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइन्छ । होली सम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ ।

हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्ती अनुसार पनि होली पर्व मनाउने गरिन्छ ।

फगुवा खेल्ने अर्थात् फागु पूर्णिमामा तराई मधेसमा बेग्लै रौनक हुन्छ । एउटै उमेरसमूहका युवायुवती जम्मा भएर हर्षोल्लासपूर्ण रूपमा होली मनाउँछन् । यो पर्वले सौहार्द, सद्भावना, शान्तिपूर्ण समाज र सहअस्तित्वको सन्देश दिन्छ ।

जाडो सकिएको र गर्मी नबढिसकेको अवस्था भएकाले पनि रमाइलो मौसम छ यतिबेला । हिउँदे बाली खेतमा तयार हुँदै र बर्खे थन्क्याइसकिएको छ । होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ ।

सबै तस्वीरहरु : सामाजिक सञ्जालबाट

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १८:१३