सूचनाको शक्ति - The Power Of Information

        

पोख्री गाउँका महिला ‘घरमै असुरक्षित सुत्केरी’

होम डेलिभरी शून्यमा झार्ने सरकारको नीति भए पनि जुम्लाका विकट ग्रामीण भेगका महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् । नजिक बर्थिङ सेन्टर छैन । भिरालो बाटोले बोकेर लैजान सकिँदैन । बोकेर लैजाने घरमा पुरुष पनि हुँदैनन् ।

टाढा अस्पताल स्वास्थ्य चौकी भएको ठाउँसम्म जाने सवारी साधन गुड्ने बाटो छैन । जसका कारणले गर्दा घरमै असुरक्षित सुत्केरी हुनुको विकल्प छैन । तिला गाउँपालिका–७ पोख्री गाउँकी २६ वर्षीया आशा रोकायाका दुई बच्चा छन् ।

उनले दुवै बच्चा घरमै जन्माएकी हुन् । दुवै बच्चा ३ दिनसम्म घरमै छटपटाएर सुत्केरी भएको उनले दुखेसो पोखिन् । उनले भनिन् नजिक बर्थिङ सेन्टर, स्वास्थ्य चौकी, अस्पताल छैनन् । टाढा जान सकिए । बोकेर लैजाने घरमा पुरुष पनि हुँदैनन् ।

पुरुष सबै रोजगारका लागि व्यापार व्यवसाय, मजदुरी गर्ने जिल्ला बाहिर गएका हुन्छन् । गाउँ घरमा महिला, बुढाबुढी (जेष्ठ नागरिक) मात्रै हुन्छ । उनीहरूले बोकेर अस्पताल ब्रर्थिङ सेन्टरसम्म बोकेर लैजान सक्दैनन् । घरमै सुत्केरी हुनु बाध्यता छ ।

बच्चा छिटो जन्मिन्छ कि भनेर सुत्केरी बेथा लागेको समयमा जङ्गलमा गएर दाउराको भारी ल्याएर आएको उनले बताइन् । यस्तै दुई हप्ता अघि उषा बोहरा घरमै सुत्केरी भइन् । उनले पनि सुत्केरी बेथा लागेको दुई दिन पछि बच्चा जन्मिएको हो ।

गएको सात महिनाअघि जैसरी थापा पनि घरमै सुत्केरी भइन् । उनको बच्चा पेटमा उल्टो रहेछ । आशा रोकायाले भनिन् बच्चा जन्मिदा खुट्टा अगाडी आए । बच्चा बाचेन मर्यो । पोख्री गाउँमा ६५ घरधुरी रहेका छन् ।

यहाँका सबै गर्भवती महिला घरमै सुत्केरी हुने गरेको स्थानीय बताउँछन् । गर्भवती भएको अवस्थामा चार पटक चेकजाँच गर्नुपर्ने हुन्छ । स्वास्थ्य संस्थामा सुत्केरी भएपछि राज्यले पोषण पत्ताको पनि सुविधा दिएको छ ।

तर यो गाउँका महिला घरमै असुरक्षित सुत्केरी हुने र पोषण भत्ता सुविधाबाट पनि वञ्चित हुँदै आएका छन् । यो गाउँ तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाकै गाउँ हो । अध्यक्ष रोकायाले भने गाउँमा अहिले बिजुली पानी सबै पुगेको छ ।

सडक पनि ट्र्याक खोलिएको छ । यो गाउँदेखि दुई घण्टा टाढा घोडेगाउँ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको छ । भौगोलिक विकताका कारण महिलाले बर्थिङ सेन्टरको सुविधा लिन पाएका छैनन् । अब यो गाउँका पनि बर्थिङ सेन्टर पहल गरिने उनले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १७:१५