सूचनाको शक्ति - The Power Of Information

        

झाडापखालाबाट जाजरकोटमा एक जनाको मृत्यु, औषधि अभाव

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा झाडापखालाका कारण एक जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–७ जुनीका ५१ वर्षीय जयराज रोका मगरको मृत्यु भएको हो ।

स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीका अनुसार गत फागुन १८ गतेदेखि झाडापखाला कारण बिरामी भएका रोकाको मृत्यु भएको हो । साथै उनका छोरा १४ वर्षीय अनमोल रोका मगर बिरामी छन् ।

आइतबार स्वास्थ्य शाखा मजकोट र प्रहरी चौकी मजकोटको टोली उक्त स्थानमा पुगेर अनमोलको प्राथमिक उपचार गरेको शाहीले बताए । रोकालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ ।

गाउँपालिकामा असोजदेखि औषधि अभाव छ । गाउँपालिकाले मंसिरमा २१ लाख ५० हजारको औषधि खरिद गर्दासमेत स्वास्थ्य संस्थामा नदिएको स्वास्थ्यकर्मीहरूको गुनासो छ ।

जाजरकोटमा यसअघि पनि विभिन्न समयमा झाडापखालाका कारण मानिसहरूको मृत्यु भएको थियो । तैपनि सरकारले दुर्गम क्षेत्रमा औषधि वितरणलाई व्यवस्थित गर्न सकिरहेको छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १७:११