सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

फागु पर्व

दली रङ्ग सारा नयाँ जोस भर्दै ।
खुसीका सबै दिव्य उल्लास छर्दै ।।
उनी सत्यका भाव ईर्ष्या उखेलौँ ।
पखालेर मैलो सबै फागु खेलौँ ।।

पहेलै छ दौरा र नीलो छ चोली ।
असाध्यै मजाको छ यो पर्व होली ।।
मिसाएर पानी बगाएर खोली ।
मिली फागु खेलौँ सबै रङ्ग घोली ।।

रमाए झुमे मस्तले टोलबासी ।
मिठा भावनाका सयौँ फूल गाँसी ।।
नचायो र नाच्यो हँसायो र हाँस्यो ।
यही फागुले गर्विलो चित्त गाँस्यो ।।

मनायौँ अझै हर्ष छर्दै उमङ्ग ।
यही दृश्य हेरी छ संसार दङ्ग ।।
फिरी फागु आयो वसन्ती छटामा ।
भिज्यो मस्तले प्रेमको बाछिटामा ।।

जता जान्छु बाटा भिजेका र राता ।
उही हालमा देख्छु खुट्टा र पाता ।।
फुलेझैँ छ यो राष्ट्र सत्कामनामा ।
म हाँसेर फक्रिन्छु सद्भावनामा ।।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १६:५७