सूचनाको शक्ति - The Power Of Information

        

उपचार खर्चमै सम्पत्ति सकिएपछि परिवारको बिचल्ली

तुलसीपुर उपमहानगरपालिका–१८ निवासी ३० वर्षीय राजन नेपाली गत २०७८ माघ ७ गते दुर्घटनामा परे । दुर्घटनामा परेका नेपाली अझै अचेत छन् ।

उनी अचेत अवस्थामा ओछ्यान परेको वर्ष दिन भयो । वर्ष दिनमा उनको उपचारका लागि परिवारको भएको सबै सम्पत्ति रित्तियो । न उनी निको भए, न सम्पत्ति बच्यो ।

गाउँमा ऋण कर्जा गरी र भएको सम्पत्ति बेची उनको उपचारमा ५० लाख बढी खर्च भइसक्यो । तर उनको बेहोसीबाट बौरिन सकेनन् । अहिले उनीसँगै परिवारसमेत बिचल्लीमा परेका छन् ।

आर्थिक अभावका कारण न बिरामीले औषधी उपचार पाउन सकेका छन्, न परिवारले दुई छाक सजिलै टार्न । तर परिवारलाई आफ्नो भोको पेटको भन्दा श्रीमानको उपचारको पीडा धेरै छ ।

श्रीमती कमला नेपालीले भनिन्, ‘उहाँले औषधी खान पाउनु भएको छैन, हामीले भात, भोको पेटको शोकमा छौँ ।’ सामान्य पारिवारिक अवस्थाका नेपालीको ग्रिल पेशाले उनको गुजारा टरेका थियो । उनले त्यही पेसाबाट एउटा घर र घडेरी जोडेका थिए ।

तर दुर्घटनापछि उपचारका लागि त्यो पनि सिद्धियो । अहिले उपचार अभावका कारण ओछ्यानमा थलिएका छन् । दुई छोरी एक छोरा सहितको पाँच जना परिवार अभावको कष्टकर दिन काट्दै आइरहेको उनले सुनाइन् ।

औषधी उपचार पाए श्रीमान् बाँच्थे कि भन्ने आस उनको श्रीमतीको छ । तर उनीसँग बचाउन सक्ने कुनै उपाय नहुँदा सास रहुञ्जेलको आस रहेको उनले सुनाइन् ।

श्रीमानको उपचारमा सम्पत्ति सकिएपछि अहिले गाउँलेहरूको साहारामा तीन सन्तानको भोक टार्दै आइरहेकी उनले श्रीमानको जीवन रक्षाका गरिदिन समेत सहयोगदाताहरूमा आग्रह गरिन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १६:११