सूचनाको शक्ति - The Power Of Information

        

चिनियाँ दूतावासको गाडी एक वर्षदेखि राजश्वको कब्जामा

चिनियाँ दूतावासको एक गाडी एक वर्षदेखि राजश्व अनुसन्धान विभागले नियन्त्रणमा राखेको छ । रसुवा नाकाहुँदै सामान तस्करीमा गाडी प्रयोग भएको भन्दै विभागले दूतावासको गाडी नियन्त्रणमा लिएको हो ।

तर, यसमाथि विस्तृत अनुसन्धान भने हुन सकेको छैन । चिनियाँ नम्बर प्लेटकै गाडी विभागको परिसरमा रहेको छ । स्रोतका अनुसार गाडीभित्र बहुमुल्य सामानहरु भेटिएका थिए । तर, यसमा दबाबको भरमा विस्तृत अनुसन्धान हुन सकेको छैन ।

टोयोटा ब्रान्डको सो गाडीबाट पटक पटक तस्करी हुने गरेको सूचनाका आधारमा विभागले नियन्त्रणमा लिएको थियो । यसमा दूतावासकै कर्मचारीको संलग्नता हो वा कसैले निलो नम्बरप्लेट राखेर तस्करीमा प्रयोग गरेको समेत खुल्न सकेको छैन । दूतावासका कर्मचारीलाई कतिपय सामानमा भन्सार छुटको सुविधा समेत हुने गरेको छ ।

त्यस्तो छुटको दुरुपयोग गरी कतिपयले भने तस्करीसमेत गराउँदै आएका छन् । केही ठूला देशका दूतावासले त ट्रकका ट्रक सामान आयात गर्दछन् । हाम्रो राज्य प्रशासन यति निरीह छ कि त्यसमा के–के आउँछ भन्नेसमेत थाहा हुने गरेको छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार ०९:०३