सूचनाको शक्ति - The Power Of Information

        

श्रीमतीको बैंक खातामार्फत डिएसपीलाई घुस

तत्कालिन डिएसपी ठगबहादुर केसी

नेतासँग साँठगाँठ भएका प्रहरी अधिकारीहरुले कतिसम्म गर्दा रहेछन् भन्ने कुरा एक डिएसपीको घटनाले उजागर गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालिन डिएसपी ठगबहादुर केसीले एक वर्षको अवधिमा करोडौं रकम असुलेको खुलेको छ ।

हाल निलम्बनमा रहेका डिएसपी केसीको सम्पत्ति विवरण सुनेर प्रहरी अधिकारी नै चकित परेका छन् । डेरामा स्रोत नखुलेको सुन र नगद बरामद भएपछि पक्राउ परेका डिएसपी केसीमाथि यतिबेला विस्तृत अनुसन्धान भइरहेको छ ।

जसक्रममा उनले नाम अनुसार नै काम गरेको र व्यापक भ्रष्टाचार गरेको पत्ता लागेको छ । स्रोतका अनुसार उनले श्रीमतीको बैंक खातामै घुस बुझ्ने गर्दथे । उनको श्रीमती एक बैंकमा कर्मचारी थिइन् । उनको खातामा स्रोत नखुलेको ठूलो रकमको बारम्बार कारोबार देखिएपछि बैंकले छानबिन गरी उनलाई जागिरबाट हटाएको थियो ।

त्यस विषयमा राष्ट्र बैंकले थप छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्ने तयारी गरेपछि त्यतिबेला राजनीतिक पहुँचका आधारमा रोकिएको थियो । जुन विषयमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । प्रारम्भिक छानबिनमै केसीको अस्वभाविक सम्पत्ति देखिएको छ ।

काठमाडौं, पोखरा र बुटवलमा उनको तीन वटा घर भेटिएको छ । ‘घरमा एउटा ढोका नै १० लाख रुपैयाँ पर्ने हालेका रहेछन्,’ अख्तियार स्रोतले भन्यो । बुटवलमा लुटधन्दा मच्चाउन सक्नुको पछाडि तत्कालिन गृहमन्त्री बालकृष्ण खाणको आशिर्वाद थियो । खाणले नै उनलाई त्यहाँ लगेका थिए । खाणका भाइ रामकृष्ण खाणसँग मिलेर उनले आतंक मच्चाएका थिए ।

हाल तिलोत्तमा नगरपालिकाको मेयर रहेका खाणसँग विवाद हुँदा विपक्षीका वडाध्यक्षलाई पौडी पोखरीमा धकल्ने डिएसपी उनै केसी हुन् । जसमा उनीमाथि कारबाही हुन सकेन । जिल्लाका एसपी रविन्द्र रेग्मी पनि खाणलाई खुशी बनाएर कमाउनकै लागि रुपन्देही गएकाले उनको पनि मिलेमतो थियो ।

जसकारण डिएसपी केसीविरुद्ध अत्याधिक उजुरी पर्दा पनि गृह मन्त्रालयकै संरक्षणका कारण छानबिन हुन सकेको थिएन । गृहमन्त्रीबाट खाण हटेलगत्तै उनीमाथि छानबिन सुरु भएको थियो । एसएसपी चन्द्रकुबेर खापुङको नेतृत्वमा छानबिन भइरहेको छ । साथै, अख्तियारले पनि छुट्टै छानबिन गरिरहेको छ ।

छानबिनको क्रममा सुन र नगद घुसवापत नै लिएको लगभग पुष्टि भइसकेको छ । तर, जागिर जोगाउन केसी यतिबेला शक्तिकेन्द्र धाइरहेका छन् । बुटवलमा कमाएको पैसा प्रयोग गरी आफूमाथिको अनुसन्धान नै प्रभावित पार्ने प्रयासमा उनी लागेको केसी निकट स्रोतले बताएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार ०८:५९