सूचनाको शक्ति - The Power Of Information

        

पल शाहले भने, ‘म पुरानै दैनिकीमा फर्किएको छु’

जबरजस्ती करणीको आरोपमा जेल परेर एक वर्षपछि सफाइ पाएर रिहाइ भएका अभिनेता पल शाहले आफू फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको बताएका छन् । सोमबार होली पर्वको शुभकामना व्यक्त गर्दै उनले बितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयको रुपमा लिएको उल्लेख गरेका छन् ।

‘मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना । छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य,’ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता शाहले भनेका छन्, ‘साथै मेरो बितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ । र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरुसँग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार ०८:०९