सूचनाको शक्ति - The Power Of Information

        

सेवा-सुविधामा प्रहरीलाई अपमान, कहिले बढ्ला तलब ?

नेपाल प्रहरीमा पद बढेको एक वर्षभन्दा धेरै हुँदा पनि ठूलो संख्यामा प्रहरीको तलब भने बढ्न सकेको छैन । नयाँ थपिएका पदमा अझै तलब समायोजन हुन सकेको छैन । उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदनका आधारमा यसबारे निर्णय गर्ने भन्दै थाति राखिएको थियो ।

गत शनिबार सो आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । सरकारी कर्मचारीहरुको तलब न्यूनतम ३४ हजार बनाउन आयोगले सिफारिस गरेको छ । आयोगको प्रतिवेदन कार्यान्वयन भएमा जवानको तलब झन्डै १० हजार बढ्नेछ ।

साथै नयाँ थपिएका बरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदको तलब बढाउन पनि अब बाटो खुलेको छ । यस विषयमा प्रतिवेदनमा के छ भन्ने खुलाइएको छैन । पद बढेर फुली थपिए पनि तलब नबढेका करिब २० हजार प्रहरी मर्कामा परेका छन् ।

तलब नबढ्दा उनीहरुले बढुवा भएको महसुस पनि गर्न पाएका छैनन् । सई दर्जामा ८ ग्रेड खाएर वरिष्ठ सईमा बढुवा भएकाहरु बरिष्ठ सई हुँदा अहिले सईमा खाएको भन्दा दुई ६२ रुपैयाँ कम तलब पाउने गरेका छन् ।

सईमा ८ ग्रेड तलब खाएकाहरुको तलब ४३ हजार ९९४ रुपैयाँ थियो अहिले ४३ हजार ७३२ रुपैयाँ पाउँदै आएका छन् । गत साउन १ गतेबाट सरकारले लागू गरेको नयाँ तलबमान अनुसार वरिष्ठ सईको तलब ४० हजार ९९८ रुपैयाँ छ ।

सईको भने ३४ हजार ७३० रुपैयाँ छ । यो स्केलअनुसार आठ ग्रेड पाउने सइहरुले बरिष्ठ सईभन्दा धेरै तलब बुझ्ने गरेका छन् । सरकारले ध्यान नदिदा प्रहरीमा यस्तो समस्या आएको हो । एकातर्फ दिनमा १६ घन्टासम्म खटिनुपर्ने बाध्यता प्रहरीलाई छ ।

अर्काेतर्फ सेवा–सुविधामा पनि यसरी अपमान हुँदा प्रहरी कर्मचारीको मनोबल कमजोर छ । सरकारले तत्कालै आयोगको सिफारिसका आधारमा प्रहरीको तलबमान समायोजनको निर्णय गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार ०७:४३