राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।
आगामी फागुनमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका नेम्वाङले कांग्रेस सभापति देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गर्नुभएको हो ।
दुई नेताहरुबीच राष्ट्रपति निर्वाचनसंगै राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ । नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरुमा मुलुकका दुई ठूला दल कांग्रेस र एमाले एकै ठाउँमा रहेर अधिकतम एउटै धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
राजनीतिक स्थिरता र दिगो विकासका लागि समेत ठूला दल मिल्नुको विकल्प नरहेको नेम्वाङको भनाइ थियो । जवाफमा सभापति देउवाले कांग्रेसले आवश्यकताका आधारमा सबै दलसँग सहकार्य गर्दै आएको बताउनुभएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
यसैबीच, राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलले सोमबार बिहान नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गर्नुभएको छ ।
निर्वाचन आचारसंहिता लागु हुन केही घण्टा अगाडि सोमबार साँझ नेपाली कांग्रेसका नेताहरुले राप्रपाका नेताहरुसँग छलफल गरेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ