सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति चुनावबारे सांसदलाई एमालेको अभिमुखीकरण

नेकपा एमालेले राष्ट्रपति चुनावबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ । ललितपुरको च्यासलमा रहेकाे पार्टी मुख्यालयमा एमालेले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदलाई अभिमुखीकरण गराएको हो ।

अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले राष्ट्रपतिको चुनावमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित भएको दाबी गर्नुभयाे । उहाँले लोकतन्त्रको रक्षा गर्नका लागि सबै राजनीतिक दलसँग एमालेले सहकार्य गर्ने बताउनुभयो । यस्तै राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा पहिलो दायित्व संविधानको रक्षा गर्ने बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण विष्ट र छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझीलगायतका नेताहरूकाे सहभागिता रहेकाे थियो ।

एमालेले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले आठ दलकाे साझा उम्मेदवारका रूपमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १८:४०