पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरूलाई पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ ।
पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्वप्रधानमन्त्रीले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै टेलिभिजनहरुलाई खानका भनाइ प्रसारण गर्न रोक लगाएको हो ।
आइतबार पूर्वी शहर लाहोरमा गरेको सम्बोधनमा खानले गतवर्ष आफूलाई सत्ताबाट हटाउनुमा पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाको हात रहेको आरोप लगाउनुभएको थियो ।
पूर्व क्रिकेटरसमेत रहनुभएका खानलाई इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि खान सरकारप्रति थप आक्रामक बन्नुभएको छ । खानले आफूमाथि लागेको अनियमितताका आरोप अस्वीकार गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री पद गुमाएपछि राष्ट्रिय चुनावको माग गर्दै खानले ठूला/ठूला सभा गर्न थालेपछि अथोरिटीले यसअघि पनि टिभी च्यानललाई बयान प्रसारण गर्न प्रतिबन्ध लगाएको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौँ