सूचनाको शक्ति - The Power Of Information

        

विचार

नेपाल राज्य : आधारभूत कर्तव्य र राज्यधर्म पालना गर्न असफल

राज्य नागरिकको संरक्षक र हितकारी नभएर शोषणको साधन हुन पुगेको छ । राज्यप्रति नागरिकको आशा, भरोसा र विश्वास भत्किएको छ ।

राज्यका केही आधारभूत कर्तव्य हुन्छन् । नेपालको सन्दर्भमा राज्यले यी कर्तव्यहरू बिर्सिएका छन् । राणा शासकहरूले ती कर्तव्यहरूलाई सम्झन कोसिस गरेका थिए । कम से कम राज्यले जनतालाई न्याय दिनु पर्छ भन्ने उनीहरूले बुझेका थिए । हुन त न्याय भन्नु उनीहरूको आफ्नो स्वार्थमा हानि नोक्सानी हुनु हुँदैन भन्ने थियो । तर, यो कुरा अहिले भन्नु हुँदैन । राज्यको एउटा आधारभूत कर्तव्य त्यस देशका नागरिकको सुरक्षा हो ।

भारतमा कुनै दिन मोदी गुजरातको मुख्यमन्त्री थिए । उनको समयमा घोद्रा भन्ने ठाउँमा मुस्लिमहरूको आम हत्या भयो तर मुख्यमन्त्रीले उनीहरूलाई बचाउन कोशिस गरेनन् । यही कारणले अमेरिकाले उनलाई अमेरिकी भिसा नदिने निर्णय गरेको थियो । उनी प्रधानमन्त्री भए पछि मात्र सो भिसाको काण्ड समाप्त भएको थियो । सो काण्ड सम्बन्धी विविसीले बनाएको एउटा डकुमेन्ट्री अहिले पनि भारतमा प्रतिबन्धित भएर विवादमा छ ।

मुख्यमन्त्री नै हुँदा मोदीको भारतका तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीसित भेट भयो । मोदीले बाजपेयीलाई खुबै मान्थे । बाजपेयीले भेट्ने बित्तिकै घोद्राको कुरा निकाले र भने, ‘तिमीले राज्यले मान्नुपर्ने पहिलो कर्तव्य नै पूरा गरेनौ ।’ भनेको मतलब मोदीले मारिएका मानिसहरूलाई सुरक्षा नै दिएन । राज्यको प्रतिनिधि भएर बसेपछि राज्यले गर्नुपर्ने कर्तव्यहरूको ख्याल गर्नुपर्छ भन्ने बाजपेयीको सन्देश थियो मोदीलाई ।

नागरिक प्रति राज्यले गर्नुपर्ने सामान्य र आधारभूत कर्तव्य पनि पुरा नगर्ने राज्यका पदाधिकारीहरू तीनै नागरिकको रगत पसिनाबाट जम्मा भएको राजश्वमाथि ब्रह्मलुट गरेर राजश्री जीवन व्यतित् गरिरहेका छन् । राज्य धर्मच्युत भैरहेको छ । सरकार, संसद, न्यायालय, संवैधानिक अंगहरूदेखि सेना, प्रहरी, निजामती हुँदै स्थानीय तहका वडा कार्यालयसम्म राज्यधर्मको सामान्य पालना गर्ने कर्तव्य विमुख हुनु आज हामी नेपालीको नियती हुन पुगेको छ । यो कुरा माहाभारतमा पनि बराबर आउने गरेको छ ।

युधिष्ठिर राजा भएपछि देवर्षी नारद भेट्न आउँछन् र अनेक प्रश्न गर्छन् । तिनीहरूमध्ये यहाँ केही दिइएको छ । उनले सोध्छन्, ‘कच्चित् त्वमेव सर्वस्याः पृथीव्याः पृथिवीपते । समश्चानभिशङ्कयश्च यथा माता यथा पिता ।।’ अर्थात् देशका जनता साराले आफ्ना माता पिता सरी, तिम्रो विश्वास गर्छन् कि गर्दैनन् के छ यो समयमा ? जसरी आमाबाबुले आफ्ना सन्तानको रक्षा गर्दछन् उसरी नै शासकले आफ्ना जनताको रक्षा गर्नुपर्दछ भन्ने हो । तर, हामीले देखेका, भोगेका, सुनेका र बुझेका छौं हामी नेपालीको हालत के छ ।

मानिसहरू खुरुखुरु आत्महत्या गरिरहेका छन्, बलात्कारीहरू सम्मानपूर्वक खुलेआम घुमिरहेका छन् र अन्याय अत्याचार गर्नेहरू भटाभट दोषमुक्त भइरहेका छन् । अपराधी र हत्याराहरूले राज्यबाट छुटकारा पाइरहेका छन् । अपराधीहरूले यसरी मुक्ति पाउने व्यवस्था हुनु नै राज्यको एउटा गम्भीर असफलता हो । एउटा कुरामा भने नारद मुनीले नेपालकै परिप्रेक्षमा सोधेका हुन् कि भन्ने पनि पर्न सक्छ । उनले सोधेका छन्, ‘कच्चिन्न भक्तं बीजं च कर्षकस्यावसीदसि । प्रत्येकं च शतं वृद्ध्या ददास्यृणमनुग्रहम् ।।’ अर्थात् किसानलाई खान्की र बीउको दुःख पर्छ कि ? सैकडा एकमा उनले पाउने ऋण मिल्छ कि मिल्दैन ?

नेपालमा कृषि मल नपाएर किसानहरूले एक ठाउँमा मल बोकेको गाडीबाटै मल लुटेर लगे । अर्को भण्डारबाटै मल लुटियो । सरकारले मलको व्यवस्था मिलाउन अनेक प्रयत्न गरे जस्तो त गर्यो तर कतैबाट मल समयमा आएन । किसानहरूले समयमा मल पाएनन् । किनभने सरकारले बोलेको पुरा गर्न सकेन । राज्य अविश्वसनीय भयो । किसानहरू निराश भए । अर्को कुरा ऋणको सम्बन्धमा यसमा भनिए जस्तै एक प्रतिशत व्याजमा पाउने नेपालममा कल्पना नगरे पनि हुन्छ । नेपालका व्यापारीहरूले व्याजको दर अति उच्च भयो भनेर दिनरात विरोध गरेको गरेकै छन् । तर, सरकार मौन छ ।

यसबाट थाहा पाइन्छ नेपालको राज्यले गर्नुपर्ने काम गरेको छैन । त्यसैगरी जब धृतराष्ट्र माहाभारतको युद्ध पछि बनमा जान लाग्छन् त्यसबेला उनले युधिष्ठिरलाई केही अर्ती दिएर जान थाल्छन् । त्यसबेला पनि उनले राज्यले गर्नैपर्ने कामको चर्चा गरेका छन् । उनी भन्छन्, ‘विनितांश्च कुलीनांश्च धर्मार्थकुशलानृजून् । तैः धार्थं मन्त्रयेथास्त्वं नात्यर्थं बहूुभिः सह ।।’ अर्थात ‘विद्वान कुलीन मान्छेका सुन्नु तर्क र भावना, धेरै मान्छेसँगै राखी नगर्नू गुप्त मन्त्रणा’ । यसको ठीक उल्टो आजकल नेपालमा राष्ट्रिय सहमतिको तर्क गरेर देशको निर्णय गर्ने गरिन्छ । असलमा चार पाँच जना नेतामिलेर यस्तो निर्णय गर्दछन् ।

दि राज्यको जिम्मेवारी लिएका मानिसहरू नै भ्रष्टाचार गर्छन् भने राज्यका सबै अंगहरूमा बसेका मानिसहरू पनि यही काम गर्न तम्सिन्छन् । यस सम्बन्धमा भ्रष्टाचार छानबीन गर्ने आयोगका सदस्यहरू नै यस काममा संलग्न भएको देखिएकै छ ।

यसबाट धेरै मानिसहरूको चित्त त बुझ्छ तर राज्यले गर्नुपर्ने खास काम भएको हुँदैन । धेरै काम लोकप्रियताको लागि गरेको देखाइन्छ, समस्या समाधान हुने ठोस काम गरिएको हुँदैन । यस मानेमा राज्यको कर्तव्य पूरा भएको हुँदैन । धेरै मानिसको हुलमा राज्यको कर्तव्यको नै खयाल गरिंदैन । सिर्फ दल र दलीय स्वार्थको कुरामा काम हुने गरेको मात्र छ । धृतराष्ट्रले यो पनि भनेका छन् कि ‘पौरजानपदानां शौचाशौचे युद्धिष्ठिर । यथास्याद् विदितं राजन् पुनः पुनररिंदम ।।’ अर्थात ‘घटदो छ या बढदो छ आफुमा जन आदर, जसरी हुन्छ यो जान्न खोजी राख युधिष्ठिर’ ।

यसबाट पनि राज्यमा बस्ने मानिसहरूले जनचाहना के छ भनेर बराबर बुझ्न सक्नुपर्छ । तर, यहाँ त आम मानिसहरू विभिन्न माध्यमबाट कराउँदै गर्छन् तर नेताहरू आफ्नो स्वार्थ छाड्नु हुन्न भन्ने कार्य गरिरहेका छन् । यसबाट राज्यमा बस्ने मानिसहरूको स्वार्थ त पुरा भैरहेको छ तर राज्यको धर्म र काम भने पुरा भैरहेको छैन । यसबाट पनि थाहा लाग्छ कि राज्यको प्रतिनिधित्व गर्ने मानिसहरू अलोकप्रिय हुँदै जान्छन् तर उनीहरूको स्वार्थ भने पुरा भैरहेको देखिन्छ । राज्यका प्रतिनिधिको रुपमा जनचाहना पुरा गर्ने कर्तव्य उनीहरू भुलिरहेका छन् ।

धृतराष्ट्रले भनेका ती कुरा खासमा राज्यको सँधै गर्नुपर्ने कर्तव्यभित्रको कुरा हुने गर्दछ । उनी भन्छन्, ‘एवं त्वया कुरुश्रेष्ठ वर्तितव्यं प्रजाहितम् । उभयोर्लोकयोस्तात प्राप्तये नित्यमेव च ।।’ अर्थात ‘यस्तो बन कि राजा, रिझाएर प्रजा कन, यहाँ किर्ति वहाँ स्वर्ग दुवै लोक सनातन’ । धृतराष्ट्रले यसरी प्रजालाई रिझाउने कुरा गरेका छन् तर नेपालका शासकहरू जति सक्यो प्रजालाई सताउने र आफ्नो स्वार्थ पुरा गर्ने तिर मात्र लागेका छन् । उनीहरूले राज्यको यो सामान्य धर्म ख्याल गर्न सकेका छैनन् ।

यसैगरी और्व ऋषिका अर्तिहरू पनि यसैसँग मिल्दछन् । एउटा श्लोकमा उनी भन्छन्, ‘यदा तु प्रतिषेद्धार पापो न लभते क्वचित् । तिष्ठन्ति बहवो लोकाः सदा पापेषु कर्मसु’ । अर्थात ‘यदि राज्यमा बसेको कोही मानिसले पनि पाप रोकेन भने त्यहाँ सबै मानिसहरू पापै पाप गर्न अघि बढ्छन्’ । यसबाट नेपालमा हुने भ्रष्टाचारको कुरा मिल्न आउँछ । यदि राज्यको जिम्मेवारी लिएका मानिसहरू नै भ्रष्टाचार गर्छन् भने राज्यका सबै अंगहरूमा बसेका मानिसहरू पनि यही काम गर्न तम्सिन्छन् । यस सम्बन्धमा भ्रष्टाचार छानबीन गर्ने आयोगका सदस्यहरू नै यस काममा संलग्न भएको देखिएकै छ ।

हाम्रा अदालतले केही यस्ता आयोगका कर्मचारीहरूलाई सजाय तोकेको पनि देखियो । तर, राज्यका सार्वजनिक निकायहरू जताततै भ्रष्टाचारकै पापकर्म आम प्रवृत्तिका रुपमा फैलिएको छर्लङ्ग छ । देशका मुख्य मानिसहरू नै भ्रष्टाचारी भएकोले भ्रष्टाचार गर्नु सबैतिर सामान्य हुन पुगेको छ । उनीले यसै सिलसिलामा भनेका छन्, ‘जानन्नपि च यः पापं शक्तिमान् न नियच्छति । ईशः सन् सो पि तेनैव कर्मणा सम्प्रयुज्यते’ । अर्थात ‘जानी जानी पनि पाप जसले खोज्दैन रोक्न, त्यस घडिमा आफूले पाप नगरे पनि सो मानिस पापी नै ठहरिन्छ ।’

भनाईको मतलव आफैले पाप नगरे पनि या आफैले पैसा नखाए पनि सो मानिस यदी उसलाई सो पापबारे थाहा छ भने सो पापको भागी ऊ पनि हुन्छ । यसबाट के थाहा हुन्छ भने कुनै अन्याय अत्याचार कतै भएको थाहा पाउने मानिसहरू नै चुप लागेर बसेको छ भने उनीहरूले त्यसबाट छुटकारा पाउँदैनन् । उनीहरू पनि पापी अर्थात जिम्मेवार ठहरिन्छन् । त्यसकारण समाजमा भइरहेका यस्ता कुकर्महरूको विरोधमा बोल्नु कर्तव्य हुन्छ र त्यस्तो काम गर्नु जायज मानिन्छ । तर, नेपालमा पापकर्म देखिरहेकाहरू पनि चुपचाप सहने, हेर्ने र मौन बस्ने प्रवृत्ति बढेर गएको छ ।

नेपालीहरूप्रति नेपाल राज्यको केही कर्तव्यहरू हुन्छन् जसबाट कुनै पनि सरकार टाढा जान सक्दैन । आधुनिक राज्य होस् या पुरानो आफ्ना नागरिकहरूको रक्षा गर्नु पहिलो कर्तव्य हो । यसैकारणले नागरिकको कसैले हत्या गरिदियो भने सो सरकारी मामिला हुन्छ । सरकार नै सो हत्याराको विरुद्ध न्यायालयमा मुद्दा लड्द छ । विदेशमा कुनै नागरिकमाथि अन्याय भयो भने सरकार नै अघि सर्नु पर्दछ । त्यसैकारण आफ्ना नागरिकहरूको रक्षाकालागि अरु देशहरूमा राजदूतावास राख्ने चलन छ । जब कुनै अर्को सरकारले आफ्ना नागरिकहरूमाथि अन्याय अत्याचार गर्दछ त्यसबेला आफ्नो सरकारले आवाज उठाउनुपर्दछ । तर, नेपालको सरकारको भने कुरा बेग्लैछ ।

आफ्ना नागरिकहरू जति पनि अन्यायमा परेपनि त्यसबारे सरकार धेरैजसो मौन धारण गर्दछ । विदेशी सरकारहरू रिसाउला भनेर डराउँछ । नेपालका लाखौं युवकहरू विदेशमा जाँदा नेपाल कै मानिसहरूले उनीहरूलाई ठगेको हुन्छ । त्यस माथि विदेशीले ठग्ने त बेग्लै छ । विदेशमा बसेका नेपाली नागरिकहरू चिच्याउँदै गर्छन् तर आफ्नो सरकारले सुन्दैन र सुने पनि नसुने झैं गरेर बस्छ । त्यस मानेमा नेपाली राज्यले नागरिक सुरक्षाको आधारभूत कर्तव्य पनि पुरा नगरेको देखिन्छ । नागरिकप्रति राज्यले गर्नुपर्ने सामान्य र आधारभूत कर्तव्य पनि पुरा नगर्ने राज्यका पदाधिकारीहरू तीनै नागरिकको रगत पसिनाबाट जम्मा भएको राजश्व माथि ब्रह्मलुट गरेर राजश्री जीवन व्यतित् गरिरहेका छन् ।

राज्य धर्मच्युत भैरहेको छ । सरकार, संसद, न्यायालय, संवैधानिक अंगहरू देखि सेना, प्रहरी, निजामती हुँदै स्थानीय तहका वडा कार्यालयसम्म राज्य धर्मको सामान्य पालना गर्ने कर्तव्य विमूख हुनु आज हामी नेपालीको नियती हुन पुगेको छ । यस्तो राज्य नागरिकको संरक्षक र हितकारी नभएर शोषणको साधन हुन पुगेको छ । राज्यप्रति नागरिकको आशा, भरोसा र विश्वास भत्किएको छ । यसबाट देश हुनु र नहुनुको कुनै फरकपन नागरिकले अनुभव गर्न नसक्नुले नेपाल राज्यको सान्दर्भिकतामाथि नै जनमानसमा प्रश्न खडा भएको छ ।

स्रोत : आइएनएस–स्वतन्त्र समाचार
प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १६:५९