सूचनाको शक्ति - The Power Of Information

        

साहुखर्कमा भैँसी पालेर खीरको व्यापार

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजमार्ग महाकाली राजमार्गको साहुखर्क हुँदै यात्रा गर्ने जोकोही यात्रुले खीरको स्वाद नचाख्नु अचम्म मानिन्छ । २०३२ सालदेखि साहुखर्कमा खीर बेच्दै आएका शेरबहादुर देउवाको परिचय नै खीरबाजेका रूपमा प्रख्यात छ ।

गन्यापधुरा गाउँपालिका–१, साहुखर्कमा खीरको व्यापार गरेरै देउवाले करिब ४० रोपनी जमिन जोडेका छन् । त्यो जग्गालाई पक्की पर्खालले घेरेका छन् । उनले हालसम्म करिब ३० लाख रुपैयाँ लागतमा आफ्नो खेतबारीका गह्रा–कान्लामा पक्की पर्खाल लगाएका छन् ।

२०२४ सालदेखि महाभारत पर्वत क्षेत्रको साहुखर्कमा उनले भैँसी पालन गर्दै आइरहेका छन् । उनको भैँसी पाल्ने खर्कमा २०३२ सालमा सडक पुग्यो । र उनले भैँसीको दूघको खीर पकाएर बेच्न थाले । भैँसी पाल्ने खर्क भएर सडक डडेल्धुरा, बैतडी, डोटी गयो ।

सडकमा काम गर्नेहरू खर्कमा बस्न थाले । सडक खनिएपछि गाडी चल्न थाले । ८१ वर्षीय देउवाले भने, ‘अनि मैले त्यति बेला खीर पकाएर एक प्लेटको पाँच रुपैयाँका दरले बेच्न थाले ।’ सडक किनारमा काठको सानो टहरा बनाई खरले छानो छाएर खीर बेच्न थालेका देउवाले हाल सोही स्थानमा दुईवटा पक्की भवनसमेत बनाएका छन् ।

हाल पनि उनको गोठमा १२ वटा भैँसी छन् । हाल एक प्लेट खीरको मूल्य ८० रुपैयाँ छ । दैनिक रूपमा ४०–४५ लिटर दूधको खीर पकाउने गरेको उनले बताए । खीर बिक्री गरेर कमाएको रुपियाँले रुवाखोला गाउँमा रहेको खेतका सबै कान्लामा पक्की पर्खाल लगाएको उनले बताए ।

गत वर्ष मात्रै १८ लाख रुपैयाँ खर्च गरेर साहुखर्कमै रहेको आफ्नो जमिनमा पक्की पर्खाल निर्माण गरेको उनले बताए । भिरालो जमिनमा वर्षाले पहिरो जाने र जमिन बगेर जाने समस्याका कारण पक्की पर्खाल लगाएको उनले बताए । रुवाखोलाका खेतमा धान रोपाइँ गरेर सोही धानको चामलले खीर पकाएर बेच्ने गरेको उनले बताए । हाल १३ वटा भैँसीपालन गर्न चार जना स्थानीयलाई रोजगारीसमेत दिएका छन् ।

केही वर्षदेखि उनले खीरसँगै मिठाईका परिकारसमेत बिक्री गर्दै आइरहेका छन् । दूधबाट बनेको खोया, पेडा लगायतका मिठाईका परिकारसमेत उनले बिक्री गर्दै आएका छन् । महाकाली राजमार्ग भएर तराई–पहाड आवतजावत गर्नेहरू साहुखर्कमा खीर, मिठाई र चियाको स्वाद लिने गर्छन् । पहिलेको तुलनामा पछिल्ला वर्षहरूमा खीरको व्यापार घटेको उनको भनाइ छ । साहुखर्क क्षेत्रमा हाल दर्जन बढी खीर खुवाउने पसल खुलेपछि आफ्नो व्यापार घटेको उनले बताए ।

स्रोत : गोरखापत्र
प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार ११:०१