सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

गुरुयोजना

धार्मिक भक्तजनले बोले
उनीहरू भाग्य देख्ने कला भएका भएका व्यक्ति हुन्
उसले उनीहरूलाई
धर्मकै भाषामा भन्यो
‘ठग ब्रह्मा रहेछन्
अन्य देवी देवताहरूलाई थाहा नदिई
कल्प नपर्खी तुरुन्तै नयाँ सृष्टि गरेछन्’
धार्मिक भक्तजन अन्योलमा परे
उनीहरूको प्रश्न थियो
‘के ब्रह्माले हाम्रो भाग्य हेरे ?
उसले शान्त्वना दियो
‘भाग्य हेर्नेको पनि भाग्य हेर्ने रहेछन्’
अनि उसले घोषणा गर्यो
ति भाग्य देख्ने भक्तजनलाई
‘नयाँ प्रजातिका मानिस’
र विज्ञानको भाषामा भन्यो
‘दैविक शक्तिको म्युटेशन’

उसले ति भक्तजनलाई भन्यो
‘वैज्ञानिक भएको ठाउँमा नजाउ
उनीहरूले तिमीहरूलाई शोधको विषय बनाउनेछन्’
भाग्य देख्नेमा अन्योल छायो
अन्योलमा परेका भक्तजनलाई देखि
आफ्नो समाज भाग्य देख्ने लोभमा परेको देखेर
उसले केही बोलेन
त्यहाँ वैज्ञानिक आँफै पनि सामेल थिए
उनीहरूले आफुमा नै खोज गरे कि गरेनन्
दैव जानुन् ।
यी सबै कुरा प्रति मतलब नगरी
उसले नयाँ गुरु योजना ल्यायो
‘अविवाहित भाग्य देख्ने महिला र पुरुष
एक अर्काबीच विवाह गर
सन्तान जन्माउ
अनि नयाँ पुस्ताको थप म्युटेशन देखाउ’
नेपालमा बहुविवाह मान्य छैन
त्यसैले एकले एकभन्दा बढी विवाह गर्न पाइँदैन ।’

उसको गुरु योजनाले रङ्ग ल्याउन सकेन
धार्मिक भक्तजनले ब्रह्मासँग नसेकपछि
महादेवलाई खोजे
संहार कर्ता महादेवसँग त्राहिमाम भिडलाई
एक भक्तजनले शान्त्वना दिन बोल्यो
‘महादेवले आफ्ना भक्तलाई मर्दैनन्’
सबै महादेवको भक्त हुन आतुर भए
अनि उ बोल्यो
‘के भष्मासुर महादेवको भक्त थिएन
के रावण महादेवको भक्त थिएन
रावणले त झन विरह पोख्यो
बेलपत्र चढाउँदा खुसी भएर कुदेर आउने महादेव
उसको भक्ति सुनेर आएनन
खै त महादेवले बचाएका यि पात्रहरूलाई ?’
रावणलाई पराजित गर्न
हनुमानलाई अंश अवतार बनाएर
रामको सेवा पठाए
रावणले आफु मर्ने दिन पनि
महादेवको पुजा गरेर मर्यो
खै त महादेवले आफ्ना भक्त देखेका’

भिडका सन्नाटा छायो
रावण, एकलव्य, महिषासुर लगायतका पात्र
उसको लागि गुरु थिए
किनकि उनीहरूमा भक्ति थियो ।

भाग्य देख्ने भिडलाई
उसले मतलब गरेन
अनि ईश्वरको भक्ति गर्यो
उसले सोध्यो
‘हे ईश्वर, भक्ति भनेको के हो ?
ईश्वरले बोले ‘स्वार्थ रहित समर्पण’
‘हे ईश्वर, म किन भक्त हुन सकिन ?’
ईश्वरले जवाफ दिए
‘तैँले भक्तिमा ज्ञानको माग गरिस’
उसले आफुले बनाएका गुरु हेर्यो
रावण, एकलव्य र महिषासुर हेर्यो
ती सबैले केहि न केहि मागेका थिए
पाएका थिए
उसले बोल्यो
‘धर्म शास्त्रमा अहिलेसम्म भक्त पैदा भएका रहेनछन्’
अनि धार्मिक भक्तजनलाई
नयाँ गुरु योजना देखायो
‘भक्त बन्नको लागि सुनौलो अवसर’

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १०:४२