सूचनाको शक्ति - The Power Of Information

        

पहिलो पटक नेपाली महिला चालक दलले जहाजको ककपिट सम्हालेपछि…

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको इतिहासमा पहिलो पटक महिला चालक दलको समूहले ककपिट सम्हालेको छ । शनिबार नेपाल एयरलाइन्सको न्यारोबडी ए३२० जहाज काठमाडौं–दुबई रुटको उडान गरेको छ ।

दुवै जना महिला पाइलटको कन्ट्रोलमा यो जहाज थियो । पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले यो सफल उडान गरी इतिहास रचेका हुन् । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार अन्तर्राष्ट्रिय उडानमा महिलाले रचेको यो नयाँ इतिहास हो ।

नेवानिका अर्का पाइलट दीपु ज्वार्चनका अनुसार आन्तरिक उडानमा कैयौं पटक यस्तो संयोग जुरेको छ, तर अन्तर्राष्ट्रिय उडानमा जुरेको थिएन । यही जोडीले दुबईबाट अर्को उडान काठमाडौंका लागि पनि गर्दैछ ।

नेपाल एयरलाइन्सले ८ मार्च (अन्तर्राष्ट्रिय महिला दिवस)को दिन सबै क्रु मेम्बर महिला राखेर उडानको तयारी समेत गरिरहेको छ । तर, यो अझै तयारीकै क्रममा रहेका कारण निश्चित भने नभएको प्रवक्ता खड्काले जानकारी दिइन् ।

गैरआवासीय नेपालीको स्वागत

राष्ट्रिय ध्वजाबाहक नेवानिको जहाज कमाण्ड गरी दुबई पुर्याएर इतिहास बनाएका महिला पाइलटहरुलाई गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएईका सल्लाहकार भुवानीप्रसाद तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत पाइलटहरुलाई यूएईमा स्वागत गरिएको जानकारी गराएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार १९:४९