सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति निर्वाचनअघि नै एआइजी बढुवाको तयारी

प्रहरीमा को–को बन्लान् एआइजी ?

गृह मन्त्रालयले बढुवाका लागि अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको छ । आयोगले अनुमति दिए चैत ३ अघि नै नेपाल प्रहरीमा पाँच एआइजी बढुवा हुनेछन् ।

सरकारले राष्ट्रपतिको निर्वाचनअघि नै नेपाल प्रहरीका पाँच अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको तयारी गरेको छ । राष्ट्रपतिको निर्वाचनअघि आचारसहिंता लाग्ने भएपछि गृह मन्त्रालयले बढुवाका लागि अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको छ ।

गृहसचिव विनोदप्रकाश सिंहले एआइजी बढुवाका लागि अनुमति माग गरिएको तर अहिलेसम्म जवाफ नआइसकेको बताए । आयोगले अनुमति दिए चैत ३ अघि नै नेपाल प्रहरीमा पाँच एआइजी बढुवा हुनेछन् । फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भएकाले त्यसअघि बढुवा गर्न आयोगले अनुमति दिनुपर्छ ।

हालका आइजीपी धिरजप्रताप सिंह र बाँकी तीन एआइजी चैत ११ गतेदेखि अनिवार्य अवकासमा जाने भए पनि त्यसपछिको नेतृत्व गर्ने प्रहरी डीआइजी नै छन् । आइजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी चैत ११ गतेदेखि अवकासमा जानेछन् । तीन डीआइजी पनि सोही मितिमा ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकासमा जानेछन् ।

डीआइजीहरु मसाउद आलम खाँ, अनलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य पनि अवकास हुनेछन् । उनीहरुको अवकासअघि नै एआइजी बनाएर एआइजीबाट आइजीपी बढुवा गर्ने सरकारको तयारी छ । तर आचारसंहिताका लागि तत्काल बाधा पर्ने भएपछि सरकारले आयोगसँग अनुमति माग गरेको हो ।

को–को बन्लान् एआइजी ?

२०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र सोही ब्याचका वैकल्पिक मध्येबाट पाँच एआइजी बढुवा हुनेछन् । एआइजी बन्ने पहिलो सूचीमा डीआइजी वसन्त कुँवर छन् । उनी डीआइजीका पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा रहेका टेकप्रसाद राई पनि एआइजी बन्ने पक्का जस्तै छ ।

डीआइजीको तेस्रो नम्बरमा रहेका र एआइजीमा पहिलो नम्बरमा आएर आइजीपी बन्ने तयारीमा रहेको डीआइजी अशोक सिंह अवकास भइसकेका छन् । उनको अवकाससँगै दीपक थापाको एआइजी बन्ने पक्का छ । थापा २०५१ सालकै प्रहरी निरीक्षक भर्नाका वैकल्पिक हुन् । अरुभन्दा उनी करिव ६ महिनापछि भर्ना भएका थिए ।

उनी बाहेक भने २०५१ कै ब्याचबाट एआइजी बन्ने छन् । डीआइजी श्यामलाल ज्ञवाली र किरण बज्रचार्य पनि पाँच एआइजी बढुवामा पर्ने सम्भावना बढी छ । चैत ११ पछि चार जना एआइजी रिक्त हुनेछ । त्यसबेलाका लागि बाँकी डीआइजी मध्येबाट एआइजी बढुवा हुनेछन् ।

डीआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा मध्येबाट सरकारले एआइजी बढुवा गर्नेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार १८:३२