सूचनाको शक्ति - The Power Of Information

        

आठ दल फेरि बालुवाटारमा

राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी गठबन्धन गरेका आठ राजनीतिक दलको संयुक्त बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको बैठक अहिले जारी छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, क्याबिनेट विस्तार र प्रधानमन्त्रीले विश्वासको मत लिने लगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, महामन्त्री गगन थापा सहभागी छन् ।

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बैठकमा सहभागी छन् ।

नेकपा माओवादी केन्द्रले एमालेसँगको सात दलीय गठबन्धन छोडेपछि बनेको नयाँ समीकरणमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार १७:२६