सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको बैठकबाट उनले नेकपा एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन् ।

आज विश्वासको मत लिएका मुख्यमन्त्री शाहलाई नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिएका छन् । मुख्यमन्त्रीको पक्षमा ४१ मत प्राप्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

५३ सदस्यीय प्रदेशसभामा ५२ सांसद उपस्थित थिए । सभामुखसहित ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४ र स्वतन्त्र १ जना गरी मुख्यमन्त्रीको पक्षमा ४१ मत प्राप्त भएको छ ।

प्रदेशसभा सचिव देवबहादुर बोगटीले दिएको जानकारी अनुसार मुख्यमन्त्री शाहलाई मत नदिने निर्णय गरेका एमालेका १० र राप्रपाका १ गरि ११ जनाले विपक्षमा मतदान गरेका थिए । मुख्यमन्त्री शाहले पाएको यो मत कुल संख्या ५३ को दुईतिहाइ भन्दाबढी हुन आउँछ ।

मतदानपछि सभामुख भीमबहादुर भण्डारीले मभुख्यमन्त्रीको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए । माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आज विश्वासको मत लिएका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार १६:३८