नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादीलाई ‘अपराधी र हत्यारा’ भन्नेहरूलाई ठेगान लगाइदिने चेतावनी दिएका छन् ।
महासचिव विप्लवले माओवादीहरु अपराधी नभएको समेत दावी गरे । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘माओवादीलाई अपराधी’ भनेको सह्य भए पनि आफूलाई सह्य नहुने बताए ।
महासचिव विप्लवले भने, ‘आज माओवादीले सारा बिगार्यो भन्नेहरू छन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू बजारमा यो छ । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा । तर, मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ, हामी लगाइदिन्छौँ ।’
उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए । उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार नरहेको जिकिर गरे । महासचिव चन्दले माओवादीलाई अपराधी बनाएर व्याख्या गर्ने कुरा सह्य नहुने बताए ।
लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार कसैलाई नभएको उनको भनाइ छ । उनले माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहोर्याउने चेतावनी दिए । चन्दले मुद्दा दर्ता भइसक्दा समेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उनको पार्टी कता गयो ? भन्दै प्रश्न पनि गरे ।
आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको उल्लेख गरे ।
सत्यपाटी संवाददाता । काठमाडौं