सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा ‘२.० छड्के’को हरिबिजोग, ‘पहिलो शो’मा सात जना !

मेगा स्टार अनमोल केसी स्टारर चलचित्र ‘२.० छड्के’ यतिबेला हलमा प्रदर्शनरत छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रलाई हलमा दर्शकको साथ सोचेजस्तो मिलेको छैन । प्रदर्शनको पहिलो दिन खासै दर्शकको साथ नमिलिरहँदा शनिबार चाहिँ उल्लेख्य साथ मिल्ने अनुमान गरिएको थियो ।

तर विडम्बना शनिबार पनि यो चलचित्रलाई दर्शकको साथ न्यून छ । नेपालगन्जमा त झन् शनिबार ‘२.० छड्के’को बिजोगको पनि हरिबिजोग छ । यो चलचित्रसँगै एकसाथ प्रदर्शनमा आएको ‘छक्का पन्जा ४’ले नेपालगन्जमा विहानैबाट हाउसफुल व्यापार गरिरहँदा ‘२.० छड्के’को भने बिजोग नै छ ।

शनिबार जस्तो बिदाको दिनमा समेत नेपालगन्जमा ‘२.० छड्के’को पहिलो शो हेर्न आउने दर्शक जम्मा सात जना थिए । शनिबार जस्तो दिनमा यो चलचित्र हेर्न आउने दर्शकको संख्या खचाखच हुन्छ भन्ने अनुमान फेल खाएको छ । त्यसो त, प्रदर्शन अगाडि जुन अपेक्षा गरिएको थियो, त्यो अपेक्षा पूरा नभएको हेर्ने दर्शकको प्रतिक्रिया छ ।

जे होस् अनमोल जस्तो स्टार भएको चलचित्रको अवस्था यस्तो हुनु भनेको पक्कै राम्रो होइन । यो चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसीको प्रमुख अभिनय रहेको छ । लामो समयपछि अनमोल यो चलचित्रमार्फत दर्शक माझ आएका हुन् ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको यस चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका चलचित्रको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । चलचित्रमा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार १०:४१