सूचनाको शक्ति - The Power Of Information

        

३५ वर्षपछि रणधीर र बबिता फेरी एक भए

भारतीय अभिनेत्रीद्वय करीना कपुर र करिश्मा कपुरका आमा-बुबा छुट्टिएको ३५ वर्षपछि फेरी एक भएका छन् ।

अभिनेत्री बबिता कपुर र अभिनेता रणधीर कपुरले फेरी एक पटकसँगै बस्ने निर्णय गरेका हुन् । दुवै जनाले आफ्नो सामान बान्द्राको नयाँ घरमा सारेका छन् । भारतीय सञ्चार माध्यामहरुका अनुसार याे जोडीको पुनर्मिलन ७ महिना अघि भएको थियो ।

तर यो पुनर्मिलनकाे कुरा सार्वजनिक गरिएकाे थिएन । रणधीर यसअघि चेम्बुरको पैतृक घरमा बस्थे भने बबिता लोखंडवालामा बस्दै आएकी थिइन् ।

सन् २००८ मा बबिता र रणधीरसँगै बस्न लागेको खबर बाहिरिएकाे थियो । त्यसपछि रणधीरले मुम्बई मिररलाई दिएको एक अन्तर्वार्तामा आफ्नो प्रतिक्रिया दिएका थिए । यसै क्रममा रणधीरले भने– ‘अहिलेसम्म भएको छैन । तर अवश्य हुन सक्छ ।’ तर त्यसपछि पनि उनीहरुसँगै बसेका थिएनन् ।

रणधीर र बबिताले सन् १९७१ मा विवाह गरेपनि मतभेदका कारण सन् १९८८ मा छुट्टिने निर्णय गरेका थिए । बबिता रणधीरको घर छोडेर करीना र करिश्मासँग लोखंडवालाको अपार्टमेन्टमा बस्दै आइरहेकी थिइन् ।

तर, यो जोडीले सम्बन्धविच्छेद भने गरेका थिएनन् । बबिता र रणधीरबीच कहिल्यै दुश्मनी नभएको र सन्तानको राम्रो पालन पोषण गर्दै आएको करिनाले एक अन्तरर्वाताको क्रममा बताएकी थिइन् ।

रणधीरको रक्सी पिउने बानीका कारण बबिता निकै दु:खी भएकाे जनाइएकाे छ । यति मात्र होइन, रणधीरले आफ्ना छोरीहरूलाई समेत फिल्ममा करियर बनाउन दिन चाहदैनथ्य । तर बबिता भने उनीहरूलाई हिरोइन बनाउने इच्छा राख्ने गरेकी थिइन ।

यस्तै विविध मतभेदका कारण यो जोडी वर्षौंसम्म सँगै बस्न समेत नसकेकाे हाे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार १०:१९