सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति निर्वाचन : मतपत्रमा उम्मेदवारको फोटो

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको तस्बिर सहितका मतपत्र तयार गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार नेपालको राष्ट्रपतीय निर्वाचनमा पहिलो पटक यस्तो अभ्यास गरिएको हो ।

फोटोसहितको मतपत्र यसपालि पहिलो पटक अभ्यास गरिएको हो सहायक प्रवक्ता भुसालले बताए । मतदान प्रयोजनका लागि तयार गरिएका नमुना मतपत्र निर्वाचन आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । आयोगले ३३४ जना सङ्घीय सांसद र ५५० जना प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र तयार गरेको छ ।

प्रतिनिधिसभाको चितवन क्षेत्र नम्बर २ रिक्त रहेको र मनाङका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार प्रकरणमा निलम्बनमा रहेका कारण दुई जना मतदाता कम हुनेछन् । निर्वाचन आयोगले ३३२ जना सङ्घीय सांसदको मात्रै मतदाता नामावलीमा नाम प्रकाशित गरेको छ । प्रदेशका भने ५५० जनाकै नाम मतदाता सूचीमा प्रकाशित भएको छ ।

सङ्घ र प्रदेशका सांसदको मतभार फरक हुने भएकाले छुट्टाछुट्टै मतपत्र तयार गरिएको आयोगले जनाएको छ । अहिले सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । सङ्घीय संसद् अन्तर्गतका राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूले मतदान गर्ने मतपत्र सेतो पृष्ठभूमिमा गुलाबी रङ्गको छ भने प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्र सेतो पृष्ठभूमिमा हरियो रङ्गले छापिएको छ ।

पहिलो कोठामा नेपाली कांग्रेस सहितको गठबन्धनले अघि सारेका नेता रामचन्द्र पौडेलको नाम सहितको मतपत्र र दोस्रो कोठामा नेकपा एमालेले अघि सारेका सुवासचन्द्र नेम्वाङको नामसँगै तस्बिर पनि हुनेछ । निर्वाचन आयोगले मतपत्रमा उम्मेदवारहरूको तस्बिर राख्नुको उद्देश्य कम मत बदर गर्ने उद्देश्य पनि एक भएको बताएको छ । नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्न फागुन २५ गते १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार ०८:५२