सूचनाको शक्ति - The Power Of Information

        

राप्रपामा लिङ्देन-लोहनी भर्सेस जबरा

बहुमत सांसद गठबन्धनको पक्षमा उभिएपछि राप्रपाभित्र विवाद

नयाँ ध्रुवीकरणसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र समेत विवाद शुरु भएको छ ।

सत्ता गठबन्धनमा खटपट आएपछि केहीदिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन मात्रै फिर्ता लिएन दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले समेत सामुहिक राजिनामा दिए ।

राष्ट्रपति निर्वाचनलाई लिएर दलहरुबीच विभाजन र धुर्विकरण भएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । पार्टी उपप्रधान तथा उर्जामन्त्री समेत रहेका राजेन्द्र लिंङ्देनसहितका मन्त्रीहरुले ४२ दिन मात्रै सरकारमा रहेर बाहिरिए ।

यतिबेला नेपाली कांग्रेससहित आठ दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड सरकारलाई समर्थन गरेका छन् । तर, संसदमा विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री छन् । नयाँ ध्रुवीकरणसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र समेत विवाद शुरु भएको छ ।

स्रोतका अनुसार राप्रपाका बरिष्ठ नेता पशुपति शम्शेर जबरा नेतृत्वको समुहले हाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने र राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्नुपर्ने अडान राखेका छन् । यता राजेन्द्र लिङ्देन र प्रकाशचन्द्र लोहनी नेतृत्वको समुहले भने एमाले नेतृत्वको गठबन्धनमा सामेल भएर सरकारको विरोध गर्नुपर्ने तर्क राख्दै आएका छन् ।

स्रोतका अनुसार पशुपतिशम्शेर जबराको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट सम्बन्ध रहेको छ । राणाकी छोरी देव्यानी राणा संलग्न भएको बहुराष्ट्रिय कम्पनी कोकाकोलाले राज्यलाई सात अर्बभन्दा बढी कर छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले मुद्दा चलाए पनि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले सहयोगी भूमिका निभाएकी थिइन् ।

उनले मुद्दामा चलखेल गर्न तत्कालिन महान्यायधीवक्ता खम्बबहादुर खातीमार्फत चलखेल गरेकी थिइन् । पशुपतिको परिवारलाई देउवा पत्नि आरजुले हरेक समय सहयोग गर्दै आएका कारण पनि राप्रपाभित्र पशुपतिले कांग्रेस नेतृत्वलाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन् । केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा राप्रपा नेता राणाले देउवाको प्रशंसा गरेका थिए । पाँच–पाँच पटक प्रधानमन्त्री भएर देउवाले ईतिहास रचेको उनको दाबी थियो ।

स्रोतका अनुसार पशुपतिको पक्षमा राप्रपामा बहुमत सांसद छन् । उनलाई ८ जना सांसदले साथ दिएका छन् भने लिङ्देनलाई ६ जना सांसदको मात्रै साथ रहेको छ । यद्यपी राप्रपाको संसदीय दलको नेता भने लिङ्देन नै छन् । केही दिनअघि जिवित देवी कुमारीको रुपमा चितृत समिता बज्राचार्य राप्रपा प्रवेश गर्दा उनले पशुपतिलाई खबर नगरी प्रकाशचन्द्र लोहनीलाई बोलाउनुले समेत राप्रपाभित्रको विवादलाई सतहमा ल्याएको चर्चा हुन थालेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार ०८:३१