सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीका एआइजीसहित आधा दर्जन डिआइजीको दोहोरो जन्ममिति !

नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंहले एसएसपीबाट डिआइजीमा बुढुवा गराएका नायब महानिरीक्षक (डीआइजी) अशोक सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ । जन्ममितिमा १ वर्ष ६ महिना २४ दिन फरक परेको देखिन्छ ।

उनको सिटरोल र शैक्षिक योग्यतामा जन्ममिति २०२५प पौष १६ छ भने नागरिकतामा २०२४ जेठ २२ भएको प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखाना उल्लेख छ । जबकी उनले २०४२ जेठ २२ मा लिएको नागरिकतामा उनको उमेर १८ वर्ष लेखिएको छ ।

त्यसैगरी एआइजी दिवेश लोहनीको पनि जन्ममिति ६ महिना २६ दिन फरक भेटिएको खुलेको छ । उनको सिटरोलमा २०२४ अशोज २९ रहेको छ भने नागरिकतामा २०२५ वैशाख १५ तथा शैक्षिक योग्यतामा २०२४ अशोज १९ उल्लेख गरिएको छ ।

अर्का डिआइजी मोहन आचार्यको सिटरोल र शैक्षिक योग्यतामा २०२४ माघ १७ रहेको छ भने नागरिकतामा २०२४ साल मात्र उल्लेख गरिएको छ । डिआइजी मसउद आलम खाँको पनि ५ महिना १ दिन जन्ममिति फरक रहेको पाइएको छ ।

खाँको सिटरोलमा २०२५ मंसिर १२ रहेको छ भने नागरिकतामा २०२५ चैत १३ तथा शैक्षिक योग्यतामा २०२५ कात्तिक ११ उल्लेख गरिएको छ भने डिआइजी श्यामलाल ज्ञवालीको पनि जन्ममिति ५ महिना ५ दिन फरक रहेको पाइएको छ ।

उनको सिटरोल र शैक्षिक योग्यतामा २०२५ भदौ २६ रहेको छ भने नागरिकतामा २०२४ चैत २१ उल्लेख छ । अर्का डिआइजी किरण बज्राचार्यको पनि जन्ममितिमा २९ दिन फरक भेटिएको नेपाल प्रहरीको रेकर्डमा उल्लेख देखिन्छ ।

उनको सिटरोल र नागरिकतामा २०२५ पौष १६ उल्लेख छ भने शैक्षिक योग्यतामा २०२५ मंसिर १७ उल्लेख भएको पाइएको छ । उमेर झुक्याएको भन्दै डीआइजी सिंहविरुद्ध बागबजारका विश्वप्रकाश भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

डिआइजी सिंहको मात्र नभई अन्य अधिकारीहरुको पनि सेवा प्रवेश गर्दाको उमेर, नागरिकता र सिटरोलमा जन्ममिति फरक–फरक भेटिएपछि आइजीपी धिरजप्रताप सिंह कानुनी परामर्शमा जुटेको बताइएको छ । आधा दर्जन अधिकारीहरुको उमेर फरक देखिएपछि गृह सचिव विनोद प्रकाश सिंह पनि कानूनी परामर्शमा जुटेको बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार ०८:०३