सूचनाको शक्ति - The Power Of Information

        

कञ्चनपुरमा दुर्लभ प्रजातिको सर्प भेटियो

बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ । सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो । दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताए ।

‘मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ,’ उनले भने, ‘यस प्रजातिको सर्प पहिलो पटक देखेको हुँ ।’ यस प्रजातिको सर्प विरलै देखिने गरेको उनको भनाइ छ । सेतो रङ्गको ‘ननभेनोमोअस वल्फ’ प्रजातिको सर्पको लम्बाइ तीन फिटभन्दा बढी रहेको छ ।

सर्प विषालु प्रजातिको भने होइन । फेला परेको सर्पले मुसा, कीरा फट्याङग्रा, भ्यागुता लगायतलाई आहारका रुपमा खाने गरेको छ । स्थानीयवासीको घर नजिकै फेला परेको सर्पको उद्धार गरी सिमताल सामुदायिक वन क्षेत्रमा सकुशल रुपमा छाडिएको सबडिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

सर्प विज्ञहरुका अनुसार यस्तो प्रजातिको सर्प रातिका बेला आहारका लागि बढी सक्रिय हुने गरेको छ । यस्तो सर्प दिउँसो रूखको टोड्का र दुलोमा बस्ने गर्दछ । यस प्रजातिका सर्प नेपालसहित भारत, बङ्गलादेश, चीन, इन्डोनेसिया, मलेसिया लगायत दशभन्दा बढी देशमा पाइने गरेका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार ०७:२०