सूचनाको शक्ति - The Power Of Information

        

तपाईं दिउँसो सुत्नुहुन्छ ? यस्ता छन् फाइदा र बेफाइदा

सामान्यतः मानिस रातको समयमा सुत्ने गर्छ । तर कतिपय मानिसहरु रातको समयमा काम गर्ने र दिउँसोको समयमा सुत्ने गर्छन् । भने केही मानिसको रातमा सुते पनि दिउँसो सुत्ने बानी हुन्छ ।

आधुनिक समाजमा परिकल्पना गरिएको ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टाको आरामको दैनिकी हो । यसमा आरामभित्र निद्रा पनि पर्दछ । तर समयको हिसाबले दिउँसो सुत्नुलाई अल्छे वा कामचोर ठानिनु अस्वाभाविक होइन । दिउँसो सुत्नु अल्छी मानिए पनि विज्ञानको आँखाले हेर्दा दिउँसो सुत्नु पनि फाइदाजनक नै हुने बुझिएको छ ।

दिउँसो सुत्नुका फाइदा फाइदाहरु

१. सतर्कता बढाउँछ – दिउँसो केही समय झकाउनुले हाम्रो शरीरको आलस्य र थकानलाई हटाइदिन्छ । फलतस् कामप्रतिको हाम्रो सतर्कता र स्फूर्ति बढाइदिन्छ । यो त्यसबेला झनै बढी उपयोगी हुने गर्छ, जब शरीरले अत्यधिक थकान वा आलस्य महसुस गरिरहेको हुन्छ ।

२. मुडमा सुधार आउँछ – दिउँसो झकाउने बानीले हाम्रो मुड सुधार गर्न, तनाव कम गर्न र आफू चैतन्य एवं खुसी रहेको अनुभूत गर्न मद्दत गर्न सक्छ ।

३. स्मृतिमा सुधार आउँछ – दिउँसो निदाउने–झकाउने गर्यो भने त्यसले हाम्रो स्मृतिमा सुधार ल्याउँछ र कामप्रतिको एकाग्रता बढाइदिन्छ । आफूले गरिरहेका कामसम्बन्धी प्रक्रियाहरुबारे सोचिबस्नु नपर्ने–फटाफट काम गर्न सक्ने अवस्था बढाइदिन्छ । त्यसले जम्मामा मानिसको उत्पादनशीलतालाई नै पनि बढाइदिन्छ ।

४. अनिद्राको भावलाई कम गरिदिन्छ – विविध कारणले कतिपय मानिसहरुलाई राति सुतेर पनि निद्रा नपुगेको अनुभूति हुने गर्छ । त्यसले उसको दैनिक काममा पनि असर परिरहेको हुन सक्छ । यो अवस्थामा दिउँसो झकाउने–सुत्ने बानीले मानिसमा रहेको त्यो अनिद्राको अनुभूति पनि हटेर जान्छ ।

५. मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ – दिउँसो अल्प समयका लागि सुत्ने–झकाउने कुराले मानिसको मुटुको स्वास्थ्यमा सुधार आउने तथा हृदयघातको जोखिमलाई पनि कम गरिदिने गर्छ ।

दिउँसो झकाउनु वा अल्प समयका लागि सुत्नु फाइदाजनक छ तर कति समय सुत्ने वा झकाउने भन्ने कुरा व्यक्तिपिच्छे फरक हुने गर्छ । यो कुरा व्यक्तिको सुताइका तरिका तथा तत्सम्बन्धी आनीबानीमा पनि निर्भर गर्दछ ।

दिउँसो सुत्नुको बेफाइदा

१. रातको निद्रामा गडबडी – दिउँसोको अल्पसुताइ वा झकाइ तथा रात्रिकालीन सुताइको समयमा धेरै अन्तर भएन भने राति सुत्ने समयमा गडबडी हुन सक्छ । नजिक सुत्दा रातको निद्रामा बाधा पुग्न सक्छ र रातमा निदाउन गाह्रो हुन सक्छ ।

२. निदाउन नसक्नु – दिउँसो धेरै बेरसम्म सुत्दा वा झकाउँदा तथा त्यो काम खासगरी मध्यान्नपछिको समयमा गर्दा राति सुत्ने समयमा निदाउन नसक्ने समस्या देखापर्न सक्छ । त्यसले हल्काखालको मतिभ्रमको अवस्था पनि पैदा गरिदिन सक्छ ।

३. उत्पादनशीलता घटाइदिन सक्छ – कामको चटारो परेको बेलामा दिउँसोको अल्पसुताइ वा झकाउने बानीले उत्पादनशीलतामा केही असर गर्न सक्छ ।

४. सामाजिक कलंक – कुनै कुनै समाजिक संस्कारमा दिउँसो सुत्नुलाई राम्रो नमानिन पनि सक्छ । त्यसलाई अल्छीपना वा अनुशासनको कमीको रुपमा पनि लिने हुन सक्छ ।

५. उठ्न कठिनाइ – केही व्यक्तिहरूका लागि, खासगरी विशेष गरी निद्रा विकारहरू भएकाहरूलाई दिउँसोको सुताइ वा झकाइबाट ब्युँझन गाह्रो पर्न पनि सक्छ । उनीहरुलाई जबरजस्ती उठाइँदा उल्टो बेफाइदा पनि गर्न सक्छ ।

यी सम्भावित कमजोरीहरूलाई विचार गर्दा दिउँसोको अल्पसुताइ वा झकाइ लिने कि नलिने भन्ने कुरा व्यक्तिको आनीबानी, समय, अवधि र उसले काम गर्ने वातावरणमा पनि निर्भर गर्ने गर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार १२:२३